उर्लाबारीका सशक्त युवा पत्रकार सरोज बस्नेत उर्लाबारी–७ को वडा सदस्यमा उम्मेदवार बनेका छन्।
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट माओवादीको कोटाबाट वडा सदस्यको उम्मेदवार बनेका हुन्।
पत्रकारिताको माध्यमबाट समाजमा एउटा छाप बसाल्न सफल बस्नेत अब जनप्रतिनिधि भएर सामाजिक कामलाई थप अघि बढाउन चाहन्छन्। उनी अहिलेमात्र सामाजिक काममा सक्रिय हुन खोजेका भने होइनन्।
एक दशक अघिदेखि पत्रकारितासँगै उनले सामाजिक कार्यलाई सँगसँगै अघि बढाएका छन्। सञ्चार क्लब नेपालको पूर्व अध्यक्ष, न्यानो अभियानको उपाध्यक्ष रहेका उनी समाजमा दुःख, पीडामा परेका गरिब, विपन्नको घरमा सहयोग जुटाउन जहिल्यै तयार हुन्छन्।
उनकै नेतृत्वमा देश विदेशबाट सहयोग संकलन गरेर बिरामीहरुको उपचार गरेको, गरिब विपन्नको घर बनाइदिएको, नमुना बालगृहमा सहयोग जुटाएको धेरै उदाहरण छन्।
समाजमा केही गरौं भन्ने सोचाइ राखेर अघि बढेका उनै बस्नेत अहिले वडा सदस्य पदको उम्मेदवार बनिरहँदा थप जिम्मेवारीका साथ वडाको विकासमा लागि पर्ने बताउँछन्। आफ्नो उम्मेदवारीप्रति वडाबासीको सकारात्मक प्रतिक्रियाले आफू हौसला मिलेको उनले बताए।
आफ्नाे उम्मेदवारीबारे यस्ताे भन्छन् सरोज
मैले नेकपा माओवादी केन्द्रबाट उर्लाबारी वडा नं. ७ मा सदस्य पदमा उम्मेदवारी दिइरहँदा सबैबाट सकारात्मक प्रतिकृया पाएको छु। कतिपयले भन्दै हुनुहुन्छ, सदस्य उठेर चाहिँ के गर्न सकिन्छ र, वडाध्यक्षसम्म भए ठिकै हुन्थ्यो। त्यो पनि अस्वभाविक होइन। तर, वडा सदस्यबाट पनि धेरै काम हुन सक्छ। यो एउटा मिसन हो।
उम्मेदवार बनेर नजितेसम्म ठूलो कुरा र जितेपछि भिजेको मुसा जस्तो गर्ने गरी मेरो उम्मेदवारी होइन। हाम्रो वडामा धेरै समस्या छन्। कतै विकास खप्टिइरहेको छ भने कतै विकासको ‘वि’ पनि भएको छैन।
यसको अर्थ २०७४ सालमा निर्वाचित जनप्रतिनिधिबाट कामै भएन भन्ने प्रश्न उठ्छ। उहाँहरुले पनि प्रयास गर्नुभयो। तर, जहाँ चाहियो, त्यहाँ पुगेन। तालिम गोष्टी भए, त्यसले वडाबासीले के पाए, त्यो समिक्षा होला। उपभोक्तामार्फत काम गर्ने नीति ठिक छ। तर, पेटी ठेकेदारको हालिमुहाली बन्यो। उपभोक्तामार्फत भनेर पेटी ठेकेदारलाई दिने भए, सिधै ठेक्का लगाउने कामको सुरुवात हुनुपर्छ।
यसमा विशेष खबरदारी रहनेछ। यी यस्ता धेरै कुरा छन्। क्रमशः आउने छन्। अब खोक्रो आश्वासनले मात्रै कसैले जित्छु भन्ने सपना नदेखौं। इमान्दारिताका साथ काम गर्न सकियो भने स्वम् वडाबासीले जिताउने कुरामा दुई मत छैन।
मलाई मत दिनु भन्ने पक्षमा छैन, मभन्दा तपाईंलाई अरु योग्य र वडाको हितमा काम गर्ने लाग्छ भने दिनुहोस्। तर, तपाईले ५ वर्षपछि भोट त दिइयो वडाको विकासै गरेन भन्ने गुनासो गर्ने छुट छैन। त्यसैले यो तपाईमात्र होइन समग्र गाउँ/टोल र वडाको सवाल हो विचार पुर्याउनुहोस्। मतदान अघि। जय होस् सबैको।