रोल्पामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि रोल्पामा नेपाली सेनाले १३ ठाउँमा क्याम्प स्थापना गरेको छ।

दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेनाको बटुक दल गण रोल्पाका गणपति प्रमुख सेनानी मणि थापाले स्थानीय निर्वाचनका लागि १३ ठाउँमा क्याम्प स्थापना गरेर सबै सुरक्षा तयारी गरिएको जानकारी दिएका छन्। उनले भने, 'हामीले सबै मतदानस्थलको सुरक्षा अवस्थाबारे अध्ययन गरिसकेका छौँ, अहिले नियमित पेट्रोलिङ गर्ने र थप सुरक्षा अवस्थाबारे जानकारी लिनेक्रम चलिरहेको छ।'

प्रमुख सेनानी थापाका अनुसार माडीचौर, खुमेल, सुलीचौर, पोबाङ, थबाङ, परिवर्तन गाउँपालिका, गङ्गादेवको सुक्खा ओडार, त्रिवेणीको जुगार, दहवन, उघालगायत ठाउँमा निर्वाचन सुरक्षाका लागि सेनाको क्याम्प स्थापना गरिएको छ।

प्रमुख सेनानी थापाले रोल्पामा बम डिस्पोजलको टोली आएको जानकारी दिनुभयो। रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन्। उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ गतेदेखि नै सुरक्षा निकाय परिचालन भएको बताएका छन्।

रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिएका छन्। रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा रहेका छन्। रासस

प्रकाशित मिति: : 2022-05-03 06:26:00

प्रतिकृया दिनुहोस्