नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

PHOTO : CAN
PHOTO : CAN

ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य नेपालले १५।५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। 

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे। उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले। 

आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारी गरेका थिए । कुशल ३४ रनमा आउट भए। उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पभेलियन फर्किए। 

जिम्बाब्बे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुता ले समान एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो। 

जिम्बावे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे। उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए। 

कुडाजाई माउन्जे ६ रनमा आउट भए। पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए। ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। 

नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। उनले ४  ओभरमा २५ रन खर्चिए। सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए।

आइतबारदेखि सुरु भएका टी-२० सिरिजमा नेपालले पहिलो खेल जिम्बाब्बे ए सँग ६ विकेटले हारेको थियो। दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि नेपालले जिम्बाब्बे ए सँग अंक बाँडेको थियो। 

तीन खेलको शृंखलामा बुधबारको खेल नेपालले जितेपछि दुवै टोलीको तीन तीन अंक भएसँगै शृंखला  बराबरी भएको हो। 

जिम्बाब्बे ए सँगको एकदिवसिय शृंखला शुक्रबारदेखि सुरु हुनेछ।

प्रकाशित मिति: : 2022-05-04 16:26:00

प्रतिकृया दिनुहोस्