रोल्पामा भोज खाँदा डेढ सय बढी बिरामी

रोल्पामा शुद्धशान्तिको भोज खान गएका स्थानीयहरू बिरामी परेका छन्।

जिल्लाको गंगादेव गाउँपालिका–४ भिताका मोटु ओलीको १३ दिने शुद्धशान्तिको भोज खान गएका गाउँलेहरू बिरामी भएका हुन्।

दिउँसो भोज भतेरमा खाना खाएका करिब डेढ सय जना बिरामी भएको स्थानीय सुनिल ओलीले जानकारी दिएका छन्। भोजमा खाना आएका अधिकांशले बान्ता गर्ने, पखाला लाग्ने, रिङ्गाटा लाग्ने समस्या देखिएको छ।

गाउँका सबै एक्कासी बिरामी भएपछि गाउँलेहरू आतंकित भएका छन्। एक्कासी सबै गाउँले बिरामी हुँदा स्थानीय स्वास्थ्य चौकीमा उपचारमा समस्या हुनुका साथै अन्यत्र उपचार गर्न लैजान गाडी समेत नपाइएको स्थानीयले बताएका छन्।

गाउँमा रहेका साना गाडीहरू चुनावका लागि रिजर्बमा गएकोले अन्यत्र उपचारमा लैजान समस्या भएको छ। गाउँका अधिकांश व्यक्तिहरू चुनावमा व्यस्त छन्। पानी परेर बाटो चिप्लो भएकाले अन्य ठाउँबाट गाडीहरू जान समेत नसकेकाले स्थानीयहरू हारगुहार गरिरहेका छन्।

खानामा विषालु पदार्थ परेको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2022-05-07 21:08:00

प्रतिकृया दिनुहोस्