रसुवामा निर्वाचनका लागि २५५ जना कर्मचारी खटाइने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची तयार पारिएको छ।

छनोट गरिएका कर्मचारीहरूमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिने छ। त्यसपश्चात् कर्मचारीहरूलाई केन्द्रहरूमा खटाइने छ। शनिबार लाङटाङ र नौकुण्डमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ।

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ। यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाईंकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ।

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्। 
 

प्रकाशित मिति: : 2022-05-07 22:01:00

प्रतिकृया दिनुहोस्