नेपालगञ्जमा पत्रकार आचारसंहिताको उल्लघंन

बिएल संवाददाता

नेपालगञ्ज 

नेपालगञ्जमा स्थानीय तह निर्वाचन लक्षित पत्रकार आचारसंहिताको गम्भीर उल्लघंन हुँदासमेत निर्वाचन आयोगको ध्यान पुग्न सकेको छैन। तथ्यहिन र संवेदनशील विषय उठाएर उम्मेदवारविरूद्ध मिडियाको दुरूपयोग गरिएको छ।

नेपालगञ्जमा मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र विगतमा मधेस आन्दोलनमा उनी सहभागी भएको विषयलाई उठाएर केही अनलाइनले नियोजित प्रहार गरिरहेको नेकपा (एमाले)ले जनाएको छ।

‘हिजो मधेसी जनताको अधिकारका लागि भएको आन्दोलनमा मेरो सहभागितालाई लिएर अत्यन्त पूर्वाग्रही बन्ने काम भयो’, मिश्रले भने, ‘निर्वाचन आचारसंहिताको योभन्दा ठाडो उल्लंघन के होला ?’

नेपालगञ्जमा पत्रकार आचारसंहिता कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बन्धीत निकायले पत्रकारहरूलाई अनुरोध गरेको थियो।

महासंघ केन्द्रीय महासचिव रोशन पुरी, जिल्ला अध्यक्ष दामोदर भण्डारीले आचारसंहिताको पूर्णपालना गर्न अनुरोध गरेका छन् भने त्यसविपरित जानेप्रति आफूहरू जवाफदेही नहुने बताइसकेका छन्। तर केही सञ्चारमाध्यम मिश्रका विरूद्धमा नियोजित रूपमा लागिपरेका छन्।

निर्वाचन आयोगले निर्वाचनका क्रममा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता सर्कुलर गरेको छ। त्यसको बर्खिलाप हुने गरी मिश्रविरूद्ध एकाध मिडिया प्रयोग भएको पाइन्छ। आचारसंहितामा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशासरण गर्न नपाइने व्यवस्था छ।

त्यस्तै जातजाति, भाषा, धर्म, सम्पदाय लिगं र क्षेत्र विशेषको सम्बन्ध र सदभावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रिय तथा सामाजिक अवस्थामा जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी सामाचार प्रकाशन वा प्रशारण गर्न नपाइने, राजनीतिक दल वा उम्मेदवार र परिवारका सदस्यको मान प्रतिष्ठा, इजजतमा आच पुर्याउने गलत तथा भ्रामक समाचार प्रकाशन गर्न नपाइने उल्लेख छ। आचारसंहिताका यी विषयको नेपालगञ्जमा केही संचारमाध्यमले ठाडै उल्लघंन गरेका थिए।

प्रकाशित मिति: : 2022-05-08 13:02:00

प्रतिकृया दिनुहोस्