‘हामीले चाहेमा नेटोका सबै राष्ट्र आधा घण्टामै ध्वस्त हुन्छन्’

Photo: Mikhail Svetlov/Getty Images
Photo: Mikhail Svetlov/Getty Images

रुसी अन्तरिक्ष एजेन्सी रोसकोस्मोसका प्रमुख दमित्री रोगोजीनले आणविक युद्ध भएमा रुसले नेटो देशलाई आधा घण्टामा ध्वस्त पार्न सक्ने दाबी गरेका छन्।

हालका समयमा धेरै उत्तेजक टिप्पणी गर्दै आएका दिमित्री रोगोजीनले आइतबार आफ्नो टेलिग्राम च्यानलमार्फत् उक्त सन्देश सार्वजनिक गरेका हुन्।

रोगोजीनले ३० मिनेटमा नेटोको विनाश हुने दाबी गर्दै भने, ‘हामीले यस्तो कार्यको समर्थन गर्नु हुँदैन, आणविक हतियारको प्रयोगले हाम्रो पृथ्वीको अवस्थालाई असर गर्नेछ।’

‘हामीले आर्थिक र सैन्य रूपमा शक्तिशाली शत्रुलाई परम्परागत सैन्य माध्यमबाट पराजित गर्नुपर्छ,’ उनले थपे।

अमेरिका र युराेपियन युनियन (ईयू)ले रुसको आणविक हतियारमा प्रतिबन्ध लगाएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा रसियाको आणविक प्रतिरोधी बलहरूलाई उच्च सतर्कतामा राखेका थिए।

‘नेटोले एक स्वतन्त्र, शान्तिपूर्ण र प्रजातान्त्रिक देश र नजिकको नेटो  साझेदार युक्रेनमाथि रुसको पूर्ण-स्तरीय आक्रमणको कठोर निन्दा गर्दछ,’ भन्दै अप्रिलमा उक्त अन्तरसरकारी सैन्य गठबन्धनले आफ्नो वेबसाइटमा एक विज्ञप्ति प्रकाशन गरेको थियो।

‘यस गठबन्धनले राष्ट्रपति पुटिनलाई यो युद्ध तुरुन्तै रोक्न, बिना शर्त युक्रेनबाट आफ्ना सबै सेना फिर्ता गर्न र तुरुन्तै कूटनीतिमा संलग्न हुन आह्वान गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ।

‘नेटोले रुसविरुद्ध युद्धको षडयन्त्र रचिरहेको छ। यसले औपचारिक रुपमा घोषणा गरेको छैन तर घोषणा नगर्दैमा यो सत्य हैन भन्ने छैन। यो कुरा सबैलाई थाहा छ,' रोगोजीनले आफ्नो टेलिग्राम पोस्टमा भनेका छन्।

रोगोजीनले रोस्कोसमोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्ने र उक्त निर्णय पहिले नै पुष्टि भइसकेको अप्रिलमा बताएका थिए। उनले रुसमाथि लगाइएको पश्चिमी आर्थिक प्रतिबन्धको पनि आलोचना गर्दै आएका छन्।

'यस्ता अवैध प्रतिबन्ध पूर्ण र बिना शर्त हटाए मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र अन्य संयुक्त परियोजनाहरुमा साझेदारहरुबीच सामान्य सम्बन्धको पुनर्स्थापनाको सम्भावना रहेको विश्वास म गर्छु,' उनले अप्रिलमा ट्वीट गरे।

युक्रेनमाथि रुसको आक्रमणलाई औचित्य गर्दै पुटिनले 'विशेष सैन्य अपरेशन' नामकरण गरेको उक्त युद्ध 'आफ्नो मौलिक अर्थ र भूगोलभन्दा धेरै टाढा गएको' र 'सत्य र रूसको एकल र स्वतन्त्र राज्यको अस्तित्वको अधिकारको लागि गरिएको युद्ध,' समेत रोगोजीनले आफ्नो टेलिग्राम सन्देशमार्फत् बताए।

युक्रेनलाई 'डिनाजिफाइ' गर्ने लक्ष्यले आक्रमण गरेको जस्ता आधारहीन दाबीलगायत अन्य थुप्रै औचित्य ठहराउने पुटिनका प्रयासहरूलाई विद्हरुले नकारेका छन्।

एक विज्ञ, लौरा जोकुशले 'युक्रेनमा जातीय रसियाली र रुसी भाषीहरूविरुद्ध युक्रेनले न त कुनै 'नरसंहार' गरेको छ न त कुनै 'जातीय सफाया'। यो सबै पुटिनले युक्रेनमा रुसी आक्रमणको औचित्य गर्न प्रयोग गरेको एक काल्पनिक कथा हो,' उनले भनिन्। 

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-05-09 11:57:00

प्रतिकृया दिनुहोस्