जेभियर र नाथमलाई उपाधि

File photo
File photo

जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। 

सोमबार जेभियर पुरुष  तथा नाथम महिला तर्फ च्याम्पियन बनेको हो।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९-५५ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो। जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे। जेभियर लगातार पाँचौं पटक च्याम्पियन बनेको हो।

दोस्रो क्वाटरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा ५ अंकले अगाडि थियो। पहिलो क्वाटरमा १८–१२को अग्रता लिएको जेभियर दोस्रोमा ८–१९ ले पछि पर्‍यो। तेस्रोमा २६–१० र चौथोमा २७–१४को महत्वपूर्ण अग्रता बनाउँदै जेभियरले उपाधि सुनिश्चित गर्‍यो।

उपाधिसँगै जेभियरले ५० हजार नगद पुरस्कार हात पार्‍यो भने गोल्डेनगेटले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो।

महिलाको उपाधि भिडन्तमा झरना बज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हराउदै नयाँ च्याम्पियन बन्यो। विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो।

जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो।

नाथमले पहिलोमा १३–०, दोस्रोमा ११–१, तेस्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन गर्‍यो। विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे।

पुरुषमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। दुवैले समान ५ हजार नगद पुरस्कार पाए।

विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बीबीए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी, आर्थिक निर्देशक रमेश कुँवर र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

२१ वैशाखदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। गर्ल्सको राउन्ड रोविन लिगमा चार टिम सहभागी थिए।

प्रतियोगिताको प्रायेजकमा कोकाकोला, सर्भा ट्राभल्स, सम्पूर्ण प्रिन्टिङ प्रेस र ओम शान्ति टेलर्स छन्। क्वेस्टका संस्थापक निर्देशक स्व। नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-05-09 17:07:00

प्रतिकृया दिनुहोस्