वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको दिन नजिकिएसिँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरीएको छ।
स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै लमजुङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको हो।
निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन वैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो। जसअनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउन लमजुङमा दुई हजार बढी सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका १२३ मतदान स्थलको १८२ मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।
सुरक्षाकर्मीहरूको उक्त संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरूमा आवश्यक निगरानी र कडाई समेत गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ।