मत बदर हुन नदिन प्रचारप्रसारमै मतदाता शिक्षा दिँदै उम्मेदवार

file photo
file photo

स्थानीय तहको निर्वाचन आउन एकाध दिन मात्रै बाँकी छ। नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत बदर हुन नदिन आयोगले नमूना मतदान गराइरहेको छ।

आयोगले बुधबार र बिहीबार नमूना मतदान गराउने भएको छ। केही स्थानमा यसअघि नै आयोगले नमूना मतदान गराइरहेको छ।निर्वाचनमा सत्तारुढ र विपक्षी दुवैको गठबन्धन बनेको छ। त्यसकारण यस पटक बढी मत बदर हुने सम्भावना देखिएको छ।

त्यसलाई समाधान गर्नका लागि राजनीतिक दलले पनि प्रयास गरिरहेका छन्। गबठन्धन आबद्ध राजनीतिक दलले स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको क्रममा नै मतदाता शिक्षासमेत दिइरहेका छन्।

सत्तारुढ गठबन्धनले छवटा महानगर र ११ उपमहानगरलगायत देशभर नै सहकार्य गरेको छ। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आज रोल्पामा आयोजित पत्रकार सम्मेलनमा देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको बताए। उनले गठबन्धनले मत बदर नहुने गरी निर्वाचनको अभियान सञ्चालन गरिरहेको जानकारीसमेत दिए।

गठबन्धनको मत जोगाउन पनि बदर नहुने गरी मतदाता शिक्षाको अभियान सञ्चालन गरिरहेका छन्। काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट सिर्जना सिंह उम्मेदवार रहेका छन्। 

त्यस्तै, उपप्रमुखमा नेकपा  (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठ उम्मेदवार छन्। केही वडामा गठबन्धनको तर्फबाट साझा उम्मेदवार नहुँदा मत बदर हुने सम्भावना उत्तिकै छ।

त्यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारी उम्मेदवार छन्। वडा समितिको अध्यक्षलगायत सदस्य पदमा अधिकांश साझा उम्मेदवार भए पनि मतदाता शिक्षाको जरुरी देखिएको सम्बद्ध दलले जनाएका छन्।

केही दलले श्रव्य दृश्यका माध्यमबाट मतदाता शिक्षा समेत सञ्चालन गरिरहेका छन्। दोलखाको बैतेश्वर गाँउपालिकामा माओवादी र  नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार छन्।

निर्वाचन प्रचारको क्रममा नै मतदाता शिक्षासमेत दिइएको र साझा उम्मेदवारलाई मतदान गर्ने तरिकासमेत सिकाइएको अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले बताए। “हामीले निवाृचन प्रचार प्रसारको क्रममा नै मतदाता शिक्षासमेतसँगै लगिएका कारण मत बदर हुने मात्रामा कमी आउने उनले भने।

विसं २०७४ मा सम्पन्न सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचमा पाँच प्रतिशत बराबर मत बदर भएको थियो। हरेक मतदाताको घरघरै गएर मतदाता शिक्षा दिने व्यवस्था भए पनि समय अभावका कारण प्रभावकारी बन्न सकेको छैन। यद्यपि आयोगले मतदाता शिक्षाका लागि अनेक प्रयास गरिरहेको छ। राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारले पनि मतपत्रमा बहर हुन कम गर्ने उपायको खोजी गरिरहेका छन्।

गठबन्धन गर्दा हरेक दलका फरकफरक निर्वाचन चिह्न हुने भएकाले पनि मतदाता शिक्षा अझै जरुरी छ। स्थानीय तहमा संयुक्तरूपमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारको सक्रियता त्यसमा देखिएको छ।

प्रकाशित मिति: : 2022-05-10 17:54:00

प्रतिकृया दिनुहोस्