सामाजिक सञ्जालबाट चुलिँदै साइबर अपराध

सामाजिक सञ्जालको दुरुपयोगबाट नेपालमा साइबर अपराधका घटना बढ्दै गए पनि अस्पष्ट कानूनी प्रावधान र अन्तर्राष्ट्रिय पहलकदमीको अभावका कारण पीडितले समयमै न्याय पाउन सकिरहेका छैनन्।

हिमाल खबर

बुद्धिप्रसाद सुवेदी

मानवीय दिनचर्यामा इन्टरनेट महत्त्वपूर्ण र सहयोगी साधन बनेको छ। तर, यही डिजिटल युगमा विद्युतीय माध्यमको प्रयोगबाट ठूल्ठूला अपराध पनि भइरहेका छन्। ‘द ग्लोबल रिपोर्ट २०२२’ ले डिजिटल निर्भरता र साइबर जोखिमलाई अन्तर्राष्ट्रिय जोखिमकै रूपमा विकसित हुन सक्ने भविष्यवाणी गरेको छ।

कम्प्युटर, कम्प्युटर नेटवर्क र इन्टरनेटको दुरुपयोग गरी कानून उल्लङ्घन गर्नु साइबर अपराध हो। यसले विद्युतीय माध्यमको प्रयोगबाट हुने चरित्रहत्या, हैरानी दिनु, बाल यौन दुर्व्यवहार, बाल पोर्नोग्राफी, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्‍याउनु लगायत कार्यलाई समेट्छ।

इन्टरनेट माध्यमबाट हुने विभिन्न अपराधमध्ये अहिले हामीले भोगिरहेको प्रमुख समस्या हो, सामाजिक सञ्जालको दुरुपयोगबाट भइरहेको अपराध। नेपालमा इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढेको देखिन्छ। प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोगबाट हुने अपराध पनि बढ्दो छ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा गत आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९०६ वटा उजुरी परेकोमा तीन हजार ७२५ उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन्। त्यस्तै, चालू आवको फागुन मसान्तसम्म दर्ता तीन हजार ५१ उजुरीमध्ये दुई हजार ८८८ सामाजिक सञ्जाल सम्बन्धी छन्। अर्थात्, देशभित्र भएका साइबर अपराधमध्ये ९५ प्रतिशतभन्दा बढी सामाजिक सञ्जालसँग सम्बन्धित छन्।

त्यसमा पनि फेसबूक मार्फत हुने अपराधको हिस्सा निकै बढी छ। गत आर्थिक वर्षमा ७१ प्रतिशत रहेको फेसबूक मार्फत भएको अपराधको सङ्ख्या यो आवमा ९१ प्रतिशत पुगेको छ।
 

प्रकाशित मिति: : 2022-05-12 16:19:00

प्रतिकृया दिनुहोस्