नुवाकोटमा ४६० जनप्रतिनिधि चुनिँदै

File photo
File photo

स्थानीयतह निर्वाचन–२०७९ का लागि नुवाकोटको स्थानीयतहमा मतदान सुरु भएको छ। 

जिल्लामा रहेको दुई नगरपालिका र १० गाउँपालिकामा कायम रहेको १३२  मतदानस्थलका २८७ मतदान केन्द्रमार्फत मत दिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताए।

उनको अनुसार मतदाता परिचयपत्र नभएकालाई सरकारी कागजातको आधारमा समेत मत दिन पाउने निर्वाचन आयोगको निर्णयले मतदानमा सहभागी हुँदा परिचय खुल्ने सरकारी कागजात साथमा बोक्न आग्रह गरिएको छ।

मतदानको लागि एउटा मतदान केन्द्रमा मतदान अधिकृत एकजना, सहायक मतदान अधिकृत एकजना, नायब सुब्बा वा खरिदारसरहको सहायक कर्मचारी दुई  र एक  सहायकस्तरको कर्मचारी गरेर कम्तीमा पाँच खटाइएको छ।

ती मतदान केन्द्रमा करिब एक हजार ५०० कर्मचारी परिचालन गरिएको छ। मतदानस्थलमा मतदान केन्द्रको सङ्ख्या र सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मी खटाइएको छ। 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम ११ देखि ३३ जनासम्म एउटा मतदानस्थलमा रहेका छन्।

जिल्लामा कायम रहेको १३२ मतदानस्थलमा २८७ मतदान केन्द्र कायम गरिएको छ। त्यसमध्ये सुरक्षाको दृष्टिकोणले २९ सामान्य,५० संवेदनशील र ४३ अतिसंवेदनशील मतदानस्थल पहिचान गरेर सुरक्षा व्यवस्था सोहीअनुसार मिलाइएको छ।

मतदानकेन्द्र र स्थलमा म्यादीलाई साथ लिएर प्रहरीले सुरक्षा दिनेछ भने त्योभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी बलले गस्तीमार्फत सुरक्षा दिने र त्योभन्दा बाहिरी घेरामा नेपाली सेनाले नियमितरुपमा गस्ती खटाइएको प्रमुख जिल्ला अधिकारी रिसालले बताए। उनले अनुशासित, मर्यादित र जिम्मेवार भएर निर्वाचनलाई सफल बनाउन आग्रह गरे।

निर्वाचनमा निर्धक्क भएर आफूले चुन्ने उम्मेदवारलाई मत दिन जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले आग्रह गरे। उनको अनुसार जिल्लामा मतदानको दुई लाख ३७ हजार ४३४ मतदाता कायम छन्। सबैभन्दा बढी विदुर नगरपालिकामा ४४ हजार १७९ मतदाता छ भने सबैभन्दा कम किस्पाङ गाउँपालिकामा १२ हजार १६१ मतदाता रहेको सम्बन्धित पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यायले जनाएको छ।

मतदानमार्फत जिल्लामा कायम रहेको १२ स्थानीयहबाट एक/एक जना प्रमुख र उपप्रमुख, ८८ वडाबाट एक/ एक जना वडाध्यक्ष, त्यति नै सङ्ख्यामा महिला वडासदस्य र महिला दलित सदस्य तथा १७६  वडा खुला सदस्य चयन गर्न लागिएको छ।

ती मध्ये बेलकोटगढी नगरपालिका वडा नं १ र म्यागङ गाउँपालिका वडा नं ६ मा एक/एकजना गरेर यसअघि दुई जना दलित महिला वडासदस्य पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै, दुप्चेश्वर गाउँपालिका–१ र तार्केश्वर गाउँपालिका–६ मा दलित महिला वडासदस्य पदमा उम्मेदवार नपरेपछि रिक्त छ।

जिल्लामा ४६४ पदमध्ये ४६० पदको लागि दुई हजार एक जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 
 

प्रकाशित मिति: : 2022-05-13 07:30:00

प्रतिकृया दिनुहोस्