कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका,गोदाबरी नगरपालिका र र टीकापुर नगरमा मतगणना सुरु भएको छ। धनगढी उपमहानगरपालिकासहितका पालिकामा मतगणना गर्ने तयारी भइरहेको छ।
सुरुवाती मतगणनामा गोदावरीमा नेपाली कांग्रेस, बर्दगोरियामा नेकपा (एमाले), कैलारी गाउँपालिकामा राप्रपाले प्रमुख/अध्यक्ष पदमा अग्रता लिएका छन्।
मतगणनाको तयारीका क्रममा अन्य पालिकामा सर्वदलीय बैठक बसिरहेको छ। जिल्लामा रहेका १३ पालिकामा शुक्रबार भएको मतदानमा झण्डै ६५ प्रतिशत मतदान भएको थियो।
यसैबीच सुदूरपश्चिम प्रदेशको कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भएको निर्वाचनको मतपेटिक आज बिहानसम्म मतगणनास्थलमा पु¥याउन सकिएको छैन। भौगोलिक रुपमा विकट सो गाउँपालिकामा सडक सञ्जाल र टेलिफोनको असुविधा छ।
मतगणनास्थल गाउँपालिकाको खिमडीमा बिहानसम्म वडा नं ५, ६ र ७ मा मतदान केन्द्रका मतपेटिका नपुगेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हवाई माध्यमद्वारा मतपेटिका ल्याउने व्यवस्थापन नहुँदा उक्त स्थानबाट मतपेटिका ल्याउन बिहान मात्रै प्रहरी टोली परिचाल गरिएको बताएका छन्।