स्थानीय चुनावको राष्ट्रिय सन्देश

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मत परिणामले प्रमुख दललाई अनुहार ऐनामा हेर्नुपर्ने बाध्यता सिर्जना गरेको छ।

अन्नपूर्ण पोष्ट

डां अतीन्द्र दाहाल

स्थानीय निर्वाचन सम्पन्न भएको छ। मतपरिणाम आइरहेका छन्।  यसपटक चुनाव प्रचार÷प्रसारमा भौतिक, अभौतिक, विद्युतीय माध्यम र सामाजिक सञ्जालको प्रयोग उच्च थियो।

निर्वाचन उत्सव पृथक्, रोचक अनि संयमित थियो। लगभग १ करोड ७० लाख मतदाताहरूमध्ये १ करोड १८ लाखभन्दा बढीले मतदान गरेको तथ्यांक छ। छिटफुट घटनाबाहेक निर्वाचन सौहाद्र्र रूपमा सम्पन्न भयो। यसले प्रजातन्त्रको प्राथमिक उपादेयता जनाउँछ।

प्राथमिक उपादेयता

विख्यात राजनीतिशास्त्री तथा यसका शोधार्थीहरूको एउटा समान तर्क छ। उनीहरूका अनुसार प्रजातन्त्रका तीन विशिष्ट आयामहरू हुन्छन्। राजनीतिक, आर्थिक तथा सामाजिक/नैतिक। तीमध्ये निर्वाचनले राजनीतिक आशयलाई पूर्ण परिभाषित र प्रतिविम्बित गर्छ। निर्वाचनकै कारण देशमा राजनीतिक दलको गठन तथा विघटन हुन्छ। प्रचारप्रसार, जुलुस, सभा समारोहलगायतका गतिविधि निरन्तर बन्छन्। दलहरू बीचका आरोप/प्रत्यारोप अनि माथापच्चीका कारण देशमा राजनीतिक सक्रियताको आभाष हुन्छ। राजनीतिक सघनता देखिने धर्ना, आमसभा, आन्दोलन, नाराबाजी तथा भाषणहरू नियमित बन्छन्। दलहरूको नेतृत्व परिवर्तन भइरहन्छ। निर्वाचनको सफलता र दलीय नेृतत्वमाथि एकआपसमा तुलनात्मक मूल्यांकन हुन्छ। दलहरूको औचित्य र अस्तित्वसमेत निर्वाचनको परिणाममा आधारित हुन्छ। नेतृत्व र दलमाथिको नागरिक विश्वासको परीक्षणसमेत निर्वाचनमार्फत हुन्छ।

प्रकाशित मिति: : 2022-05-19 16:03:00

प्रतिकृया दिनुहोस्