मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा भैरहवा 

रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्स फाइनलमा पुगेको छ।

मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवामा जारी लिग चरणको खेलमा नेट रनरेटको आधारमा बुटवल विजेता र सैनामैना उपविजेता बन्दै फाइनलमा पुगेको हो।

सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा भैरहवाले सैनामैनालाई १० विकेट तथा बुटवल टाईगर्सले देवदहलाई २७ रनले पराजित गरेको हो।

पहिलो खेलमा टस जितेर भैरहवाले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेका सैनामैनाका ब्याट्सम्यानहरुले २४.५ ओभरमा सबै बिकेट गुमाएर १ सय २४ रनको लक्ष्य तयार गरेको थियो।

जसमा रोहित विश्वकर्माले १९ रन, युवराज खत्रीले ३३ रन तथा सुसान्त थापाले १९ रनको योगदान दिएका थिए। 

कम स्कोरमा रोक्न असुतोष पाण्डेले ३ तथा कृष्ण बिक, बिनय जिसी र सुप्रित घिमिरेले समान २–२ बिकेट लिएका थिए।

भैरहवाका ओपनर ब्याट्सम्यानहरु समिर अलि र सचिन जिसीले शानदार अर्धसतक पुरा गर्दै जित निकालेपनि रनरेटका आधारमा तेस्रो बन्दै प्रतियागिताबाट बाहिरियो।

समिरले ६४  तथा सचिन जिसीले ५० रन जोडेका थिए। भैरहवाका समिर अलि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

यसैगरि बुधबार नै भएको अर्को निर्णायक खेलमा बुटवलले टस जितेर ब्याटिङको निर्णय गर्दै पुरै २५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४८ रनको लक्ष्य खडा गरेको थियो।

शुरुवाती ब्याट्सम्यानहरुले खराब शुरुवात गरेपनि मध्यक्रममा ब्याट्सम्यानहरुले ब्याटिङ सुधारे। बुटवलका लक्ष्मण कुमालले ६५ रन तथा सुभम खनालले २५ रन जोडेका थिए। 

यसैगरि सुजन रानाभाटले २२ रनको योगदान दिए। देवदहका स्वस्तिक पराजुली १ विकेट लिएका थिए।

मध्यम लक्ष्य पछ्याएको देवदहका ब्याट्सम्यान पुरै २५ ओभर खेल्दै ९ विकेट खेल्दै १ सय २१ रनमा रोकियो।

देवदहका निराजन भट्टराईले ४० रनको नटआउट पारी खेलेका थिए। यसैगरि मनिष तिवारीले १८ र सुगम फूल्देलले १२ रनको योगदान दिएका थिए। 

बुटवलका सुभम खनालले ३ तथा अरिफ खानले २ विकेट लिएका थिए। खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए। शुक्रबार फाईनल खेल हुने उनले बताए।
 

प्रकाशित मिति: : 2022-05-19 19:05:00

प्रतिकृया दिनुहोस्