सातामा दुई दिन बिदाले उत्साहित पर्यटन व्यवसायी

हिमाल खबर

डुक्पा छिरिङ मोक्तान

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। कोभिड–१९ महामारीका कारण थलिएर भर्खर तङ्ग्रिन थलिएको पर्यटन क्षेत्रलाई दुईदिने बिदाले सहयोग पुग्ने उनीहरूले आशा राखेका छन्।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। सातामा दुई दिन बिदा हुँदा पर्यटन क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रलाई पनि सहयोग पुग्ने होटल एशोसिएशन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्। कोभिड–१९ को प्रकोप कम भएसँगै चितवन, पोखरा, नगरकोट, धुलिखेल लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेको र दुईदिने बिदाले यसमा अझ सहयोग पुग्ने उनको भनाइ छ।
 
“हप्तामा दुई दिनको बिदाले आन्तरिक पर्यटक बढ्छन्,” वरिष्ठ उपाध्यक्ष शाह भन्छन्, “सरकारको यो निर्णय स्वागत गर्छौं।” आन्तरिक पर्यटक बढाउन होटल, एअरलायन्स, ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ सबै क्षेत्रले प्याकेजको व्यवस्था गरेको उनले बताए।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई पनि दुईदिने बिदाले आन्तरिक पर्यटक बढ्ने बताउँछन्। “अहिले पनि शुक्रबार र शनिबार आन्तरिक पर्यटकको उपस्थिति राम्रो छ,” उनी भन्छन्, “आइतबार पनि बिदा दिंदा त्यसले थप सहयोग पुग्नेमा हामी आशावादी छौं।”

पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटक बढ्दै गएका छन्। दुईदिने बिदाले आन्तरिक पर्यटक झन् बढ्ने बताउँछन् पोखरा पर्यटन परिषद् (पीटीसी) का अध्यक्ष गोपीबहादुर भट्टराई। यसले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उनको भनाइ छ। पोखरा सहित आसपासका क्षेत्रमा विदेशी र आन्तरिक पर्यटक साहसिक पर्यटकीय गतिविधिमा रमाउने गरेको भट्टराई जनाउँछन्। भन्छन्, “पहिलेको भन्दा अहिले बढी खर्च गर्ने खालको पर्यटक आउने गरेको अनुभव गरिएको छ।”
https://www.himalkhabar.com/news/129772

प्रकाशित मिति: : 2022-05-22 11:41:00

प्रतिकृया दिनुहोस्