आजदेखि तिमी मेराेबाट हाम्राे बालेन भयाैँ : सबिना काफ्ले 

File photo
File photo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहकी श्रीमती सबिना काफ्लेले आफूलाई गर्व लागेको बताएकी छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले गर्वले छाती फुलेको बताएकी हुन्। 

काठमाडौंको मेयर बनेपछि बालेन आफ्नो मात्र नभई सबै जनाको भएको बताउँदै उनले लेखेकी छन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ। 

तिम्रो संयमता नै तिम्रो शक्ति हो। दिन रात नभनी तिमीले गरेको  मिहेनतको फल आज सबै सामु प्रष्ट छ। तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन्!
घरी घरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ।

चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन। तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस्।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस्। पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस्। तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ।

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन। म तिमीलाई कहिले हार्न दिने छैन। मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ। 
तिमीलाई हार्दिक बधाई। मलाई हार्दिक बधाई। हामी सबैलाई हार्दिक बधाई।

प्रकाशित मिति: : 2022-05-27 13:28:00

प्रतिकृया दिनुहोस्