मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा चौथो सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ।

सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरेको हो। सिमराको जितमा विवेक चौधरीले ८ औं मिनेटमा कृपाकान्त चौधरीले ८० औं मिनेटमा गोल गरेका थिए। सिमराले जेठ २५ गते घरेलु टोली विजय यूथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए।

उनले नगद १० हजार र ट्रफी प्राप्त गरे। ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको छ। शुक्रबार बीफसी भरतपुर र चर्च ब्वाइज क्लबको भिडन्त हुनेछ। मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता भएको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। राजन कटुवाल

प्रकाशित मिति: : 2022-06-02 21:06:00

प्रतिकृया दिनुहोस्