मकवानपुर गोल्डकप : साविक विजेता आर्मी सेमिफाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा साविक विजेता विभागिय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब बीचको विभागीय डार्बी भिडन्तमा आर्मीले एपीएफलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो। निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। आर्मीले दुई पटक पेनाल्टी पाएपनि पहिलो पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा अग्रता बनाउनबाट चुकेको थियो।

४० औं मिनेटमा आर्मीका विवेक बस्नेतले गरेको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरेका थिए। खेलको ७७ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसैगरी खेलको इन्जुरी समयको अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा पु¥याएका थिए। निकै प्रस्पिर्धात्मक विभागीय भिडन्तमा दुवै टिमले केही राम्रा अवसरहरु पाएपनि उत्कृष्ट सदुपयोग गर्न भने सकेको थिएन।

टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सिमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गरेका थिए। त्यसैगरी एपीएफका नविन लामा, सुदिप शिख्राकार, रवि थिङ र सनिस श्रेष्ठले गोल गर्दा मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए। खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए।

जारी प्रतियोगितामा मंगलबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबको बीचमा खेल हुनेछ। यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। राजन कटुवाल

प्रकाशित मिति: : 2022-06-06 21:25:00

प्रतिकृया दिनुहोस्