साइकल प्रेमले कतारमा टिक्न नसकेका विशाल पोखरामा जमे

Breaknlinks
Breaknlinks

सपना र प्रेमको आयु कति लामो हुन्छ ? 
सोध्यो भने के भन्नु होला ? 
एक्लै घोत्लिँदा सायद छट्पटिने बनाउला प्रश्नले।

विशाल श्रेष्ठ (३६) का लागि भने ३ दशकदेखि सँगसँगै छ यी दुवै प्रश्नको उत्तर। पोखराको न्युरोडमा दुई वर्षअघि साइकल पसल थापेका विशाल सफल साइकल व्यवसायी हुन्। विशाल उत्तिकै नामी साइकल मेकानिक पनि हुन्, पोखराका।

प्रेमपूर्वक साइकलको नट कस्दै गरेका विशालसँग मध्य जेठको एक बसिबियाँलोको मौका जुर्यो। ९ वर्षअघि पोखरा आएका विशालको सफलताको कथा सुन्न पाउँदा हामी दंग थियौं।

बिहानदेखि कस्टमरको घुँइचोले २ बजिसक्दा पनि खाना खाने फुर्सद पाएका रहेनछन्, विशालले। एकैछिन हामीलाई कुराएपछि विशाललाई खाना खाने फुर्सद मिल्यो। हामीलाई कुरा गर्ने समय पनि।

०००

विशालकी ठूली दिदी पोखरामै बस्थिन्। दिदी भेट्न ०७० सालतिर पोखरा आएका थिए, विशाल। योभन्दा अघि पनि पोखरा त आएका थिए। सानै हुँदा आएका थिए। खासै याद थिएन, पोखरा नौलै थियो।

विशाललाई अझै पनि ताजै छ, त्यो दिनको सम्झना। पृथ्वीचोकमा ठूलो साइकल पसलले उनको ध्यान तान्यो। बोर्डमा ठूलो अक्षरले लेखिएको थियो, ‘चालिसे साइकल पसल।’

धरानमा जन्मे हुर्केका विशालले साइकल पसल उतै पनि देखेका थिए। तर, यति ठूलो साइकल पसल भने पोखरामा पहिलो चोटी देख्दै थिए। भित्री गोदामदेखि बाहिर बाटोसम्मै सजाएर राखेका साइकलको लर्कोले विशाललाई दंगै पार्यो।

धरानमा भन्दा कति हो कति फरक...। विशालको आँखै हटेन। निकैबेर घोरिएर साइकल हेरिरहेको देखेर साइकल पसलका साहुजीले सोध्छन्, ‘साइकल लिने हो भाई?’

साइकल किन्नु त थिएन विशाललाई। बरु, साइकलसित्तै खेल्नु थियो। तिनलाई मायाले सुम सुम्याउनु थियो।

विशालले सबै कुरा फुकाए। विशालको साइकलप्रतिको प्यासन देखेर चालिसेले ‘साइकल ल्यान्ड’ मा पठाइदिए। भोलिपल्टै उनले त्यहाँ काम पाए।
‘पोखरामै काम गर्ने भएँ भनेर धरानमा खबर गरें। केही समयमै श्रीमती र छोरा पनि पोखरा नै आए’, विशाल सुनाउँछन्।

०००

बुवाआमासहित ७ जनाको परिवार हो विशालको। दुई दाई, तीन दिदी र एक बहिनी अनि उनीसहितको ठूलो परिवार। परिवारमा बहिनी अघिका कान्छा सदस्य। दाइ, दिदीको माया र प्रेममै हुर्किए विशाल।

कसरी भयो ?

विशाललाई त्यो त थाहा छैन। स्कुल पढ्ने बेलामै हो, साइकलसँग उत्पातै प्रेम बस्यो। कति दिन त स्कुलै छोडेर साइक्लिङ गरेका थिए रे विशालले। ‘घर छेवैमा साइकल पसल थियो। दुई पाङ्ग्रामा पाउदानी चलाएर साइकल सररर अगाडि गुडाउँथेँ। कस्तो जादु हुँदो हो यसमा,’ भन्छन्, ‘म हेरेर सोच्थेँ के !’

विशाललाई पनि त्यसरी नै साइकल चलाउने रहर जाग्यो। तर, उनीसँग साइकल नै थिएन। रहरको पखेटा पलाएपछि उपायका पनि अनेक खात लाग्छन्।

आफ्नै साइकल नभए पनि भाडामा साइकल पाइन थाल्यो। साथीहरुले भाडामा साइकल ल्याउँथे। एक/दुई चोटी उनले पनि चलाउन पाउँथे। यसरी उनले साइकल सिकेका रे !

साइकल त सिके, तर घरमा साइकल थिएन। भाडाको साइकल कति दिन गुडाउने ? पैसा कहाँबाट ल्याउने?

‘हिरो साइकल दिनभर भाडामा मात्र तीस रुपैयाँमा पाइन्थ्यो। तेत्रो पैसा कहाँबाट ल्याउने ?’ विशाल विगत सम्झिँदै भन्छन्।

०००

साइकलले उनलाई यतिसम्म बनायो कि फुर्सद हुनेबित्तिकै साइकल पसल पुगिहाल्थे। दिनमा दर्जनौं पटक पुगेपछि पसलेले पनि उनलाई चिन्थे। अगाडि टुक्रुक्क बसेर साइकल बनाएको घोरिएर हेर्थे।

कक्षामा शिक्षकले पढाएका अक्षरहरु बरु टिप्न झिजो मान्थे उनको दिमागले, तर साइकलको ट्युब पञ्चर टाल्ने, सामान्य मर्मत गर्ने सीप त उनले आँखाले नै टिपिसकेका थिए। हातले कलम हैन, साइकल मर्मत गर्ने औजार समाउने रहर गर्याे।

‘स्कुलको किताबभन्दा बढी साइकल पसलमा साइकलबारे पढ्न थाले। मसीले हैन, साइकलको ग्रिज र तेलले हात रंगिँदा आनन्द लाग्ने क्या,’ उनी भन्छन्।

स्कुल नगइ साइकल पसलमै दिनभर बसेको खबर घरकालाई थाहा भयाे। उनलाई अझै सम्झना छ, कक्षा हापेको आरोपमा स्कुलमा कुखुरा बन्नु परेको थियो। ‘प्रिन्सिपलले कुखुरा बनाएर लठ्ठीले हान्नुभयो। स्कुल जान मनै लाग्न छोड्यो,’ उनी सुनाउँछन्।

घरमा सबैले कराउँथे। बाले त चड्कनै लगाउने। कसैको केही सीप लागेन। ६ कक्षामा पढ्दापढ्दै उनले पढाई छोडे सधैँका लागि। स्कुल जानु नपर्ने भएपछि उनले साइकल पसलमा काम थाले।

नट बोल्ड कस्ने, केही काम त उनले हेरेरै सिकिसकेका थिए। काम गर्दै जाँदा अरु पनि सिके। पढ्न छोडेर पहिलो महिनाको सात सय रुपैयाँ तलब घरमा बुझाएको विशाललाई हिजो जस्तै लाग्छ। ‘जीवनको पहिलो कमाई त खास बन्दो रहेछ, अझै पनि झलझली सम्झना आउनी क्या,’ उनी सम्झन्छन्।

०००

जिन्दगी ठिकठाकै चलिरहेथ्यो। विशाल साथीभाइको गलत संगतले कुलतमा नराम्रोसँग फसे। विशाल अहिले ती दिन सम्झन चाहँदैनन्। ‘कामबाट सन्तुष्टि थियो। नपुगेको के नै थियो र? घरमा खान लाउन समस्या थिएन। साथीभाइको संगत नै नराम्रो भएपछि म कुलतमा फसें। न पढाइ बाँकी थियो, न गरिरहेको काम नै। छोरा बिग्रियो भनेरै घरकाले मलाई विदेश पठाइदिए,’ विशाल सुनाउँछन्।

साथीभाइको गलत संगतबाट छुटकारा मिल्छ कि भनेर उनलाई घरकाले कतार पठाए। फर्निचर फ्याक्ट्रीमा काम थियो उनको। विदेशमा जति नै खटिएर काम गरे पनि तलब थियो, जम्मा नेपाली तेह्र हजार।

यतिको खटाइमा त नेपालमै दोब्बर कमाउन सकिन्छ। विशाललाई लाग्थ्यो अब नेपालमै केही गर्नुपर्छ। दुई वर्षकाे थियो भिजा। दुखजिलो दुई वर्ष पार गरेर उनी स्वदेशै फर्किए।

विदेशले स्वदेशको माटोको सुगन्ध चिनाई सकेको थियो। गलत संगतले उनलाई जिन्दगीको असली माने पनि सिकाइ दिएको थियो। त्यो उनले छाडी सकेका थिए। नेपाल फर्केर फेरि पुरानै काममा फर्के विशाल।

०००

१७ वर्षदेखि साइकल मर्मत गर्दै आएका विशालको अहिले पोखराको न्युरोडमा साइकल पसल छ ‘विशाल साइकल सप’। बिहानदेखि बेलुकासम्म पसलमै व्यस्त हुन्छन्, विशाल। एक जना सहयोगी पनि राखेका छन्।

‘बैंकबाट ऋण लिएर सुरुवात गरेको एउटा सटरबाट अहिले दुईवटा सटरमा छ। कोरोना महामारी फैलिने बेलैमा सुरु गरे, अलिअलि कोरोनाले पनि असर त गर्यो। तर, सर्भिसिङको काम भयो,’ उनी बताउँछन्।

गर्न सके स्वदेशमै पनि हुन्छ भन्नेहरुका लागि विशाल पथप्रदर्शक बन्न सक्छन्। ‘सीप सिकेपछि कहिल्यै खेर जान्न। सधैँभरि मेरै पसलमा काम गर्नुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘केही वर्ष यहाँ काम सिकेर आफ्नै व्यवसाय सुरु गरे पनि हुन्छ। आउनुस् काम सिक्नुस्।’

महँगा गाडी चढ्ने पोखरेलीहरु विहानीपख साइक्लिङ गर्न रुचाउँछन्। खलखली पसिना चुहाउँदै हाइकिङ पनि जाने गर्छन् साइकलमै। साइकल केही भई हाले विशाललाई नै खोज्छन्।

पोखरेली मात्रै हैन, अहिले त साइकल बनाउन स्याङ्जा, गोरखाबाट पनि आउँछन्। उनी भन्छन्, ‘टाढा टाढाबाट पनि आउनुहुन्छ। बिहानदेखि भात खाने फुर्सद पनि हुन्न कहिलेकाहीँ त।’

प्रकाशित मिति: : 2022-06-08 21:52:00

प्रतिकृया दिनुहोस्