टिम क्यानडा च्याम्पियन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ‘एनएसएजएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टीमा सुटआउटमा २–१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो।

निर्धारित र थप गरिएको समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा टिम क्यानडाका अभिनव जोशी र बासु अवालले गोल गरे। तर, मुना कार्कीले पेनाल्टीमा गोल गर्न  सकिनन्।

टिम अमेरिकाका निशान राईले पेनाल्टीमा गोल गर्दा दिल तामाङ र गीता राई चुके। पेनाल्टी अघि टिम क्यानडाका अभिनव जोशीले दुई र बासु अवालले एक गोल गरे। यस्तै टिम अमेरिकाका दिल तामाङले दुई गोल गर्दा सुजन श्रेष्ठले एक गोल गरे।

चार टोली सहभागी प्रतियोगितामा टिम अमेरिका सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो। टिम क्यानडा भने तीन खेलमा दुई जितसहित उपविजेता बन्दै फाइनल पुगेको थियो।

एकदिने प्रतियोगिताको लिग चरण अन्तर्गत पहिलो खेलमा टिम अमेरिकाले टिम क्यानडालाई ६–३ ले हराएको थियो। दोस्रो खेलमा टिम मलेसियाले टिम अस्ट्रेलियालाई ३–१ ले हराएको थियो। तेस्रो खेलमा टिम अमेरिकाले टिम मलेसियालाई ४–२ गोल अन्तरले हराएको थियो।

चौथो खेलमा टिम क्यानडाले टिम अस्ट्रेलियालाई ५–० ले हराएको थियो। लिग चरणको अन्तिम खेलमा टिम अमेरिकाले टिम अस्ट्रेलियालाई १–० ले हराएको थियो।

प्रतियोगितामा पुरुषतर्फ टिम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी चुनिए। यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर टिम अमेरिकाका सञ्जय थापा, इमर्जिङ प्लेयर टिम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट म्यानेजर टिम क्यानडाका दीपेश तिमल्सिना, गोल अफ द मोमेन्ट अवार्ड टिम अमेरिकाका निरञ्जन राजवंशी, मोमेन्ट अफ द डे अवार्ड टिम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड टिम अमेरिकाका निशान राई र फ्यान अफ द डे अवार्ड पूजा शाक्य र सुमन सिवाकोटीले प्राप्त गरे।

प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रतियोगिता तथा लिग निर्देशक सञ्जीव मिश्र लगायतले पुरस्कृत गरे।

कार्यक्रमको उद्घाटनमा बोल्दै मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले मञ्चमा आबद्द सदस्य र विदेशमा रहेका मञ्चका पूर्व सदस्यबीच आपसी भाइचाराका लागि फेस्टिभल आयोजना गरिएको जानकारी गराए।

ओलम्पिक दिवसका अवसरमा कमिसनले देशव्यापी रूपमा २ हजार ५ सय कार्यक्रम गर्ने तालिका छ। हालसम्म प्रदेश १ मा ३४, बाग्मती प्रदेशमा ५ सय ३८, गण्डकी प्रदेशमा ८, कर्णाली प्रदेशमा २२ तथा सुदूरपश्चिम प्रदेशमा ३५ कार्यक्रम सम्पन्न भइसकेको कमिसनले जनाएको छ।

प्रकाशित मिति: : 2022-06-10 20:28:00

प्रतिकृया दिनुहोस्