‘सी’ डिभिजन लिग च्याम्पियन झापा फुटबल क्लबलाई सम्मान

File Photo
File Photo

‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान गरिएको छ। झापा गोल्डकप आयोजक समितिले क्लबलाई सम्मान गरेको हो।

‘सी’ डिभिजन लिग च्यम्पियनमा अवद्ध खेलाडी र अफिसियललाई प्रति व्यक्ति नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको झापा गोल्डकप आयोज समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

‘झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजन लिगमा प्रवेश गरेको छ। यो हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘यो क्लबप्रतिको सम्मान हो। अब ‘ए’ डिभिजन प्रवेशका लागि शुभकामना छ ! हामीले प्रोत्साहनका लागि सम्मान गरेका हौँ।’

हालै सम्पन्न सी डिभिजन लिगमा विजयी बन्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा प्रवेश गरेको थियो। झापाले च्यम्पियन बन्न १३ खेलमा सर्वाधिक ३४ अंग बटुलेको थियो। झापा एफसीको व्यवस्थापन र खेलाडीको मिहिनेतले खेल जितेको झापा एफसीका अध्यक्ष जलकुमार गुरुङले बताए।

टोलीमा सबै नयाँ खेलाडी हुँदाहुँदै पनि जित निकाल्न सफल भएको उनको भनाइ छ। ‘हाम्रो क्लबमा नयाँ खेलाडी छन्। दुई जना छिमेकी जिल्ला र बाँकी सबै झापाकै खेलाडी हुन्। गाउँबाट ल्याएका खेलाडी हुन्,’ उनी भन्छन्, ‘उनीहरूलाई पाँच महिनासम्म प्रशिक्षण दिएर च्याम्पियनका लागि योग्य बनायौँ।’

बी डिभिजन क्लबमा बढुवा भएपछि भने अन्य क्लबबाट खेलिरहेका झापाली स्टार खेलाडी पनि समावेश हुने अध्यक्ष गुरुङले जानकारी दिए। ‘अब बी डिभिजन लिगका लागि यति मिहिनेतले पुग्दैन। हामीले अन्य क्लबबाट खेलिरहेका झापाली खेलाडीलाई पनि समेट्नेछौँ। केही खेलाडीसँग कुरा पनि भएको छ। उहाँहरूले पनि प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘बी डिभिजनमा पनि हामी राम्रो गर्नेछौँ। यसका लागि सबै खाले मिहिनेत हामी गर्छौँ।’
 

प्रकाशित मिति: : 2022-06-18 14:33:00

प्रतिकृया दिनुहोस्