‘महँगीको भारीले गरिबलाई थिच्यो’

पोखराको पृथ्वीचोक। बिहानको करिब ९ बजे। भारी बोकेर एक जना अधवैंशे उभिइरहेका छन्। उनको छातीमा लेखिएको छ, साधारण मान्छे। उनको छेवैमा ठाँटबाटसहित एक युवती छिन्। उनको अगाडि पम्पलेटमा टाँसिएको छ- सम्पन्न मान्छे।

सुकिलोमुकिलो लुगा लगाएकी ती युवती कालो चस्मा लगाएर केहीको पनि पर्वाह नगरी उभिएकी छिन्। ती अधवैंशेलाई भने उभिन पनि हम्मेहम्मे परिरहेकाे छ। कारण, दिनहुँ बढिहरेको महँगी। महँगीले ती अधवैंशेलाई झनझन गलाउँदै छ।

छेवैकी ती युवतीलाई भने केही असर परेको छैन। ती साधारण मान्छेमाथि महँगीको अर्को भार थपिन्छ- शिक्षा, स्वास्थ्य। उनी अझ बढी गल्छन्। त्यस्तै भार सम्पन्न युवतीमाथि पनि थपिन्छ। तर, ती युवती रत्ति गल्दिनन्। अर्थात उनलाई बढ्दाे महँगीले पनि कुनै असर पार्दैन। अन्तत: ती साधारण मान्छे महँगीको भारीले थिचेर भुइँमै बजारिन पुग्छन्। सम्पन्न मान्छेलाई कुनै असर पर्दैन।

भुइँमै बजारिन पुगेका ती साधारण मान्छेलाई केही सहयोगीहरु आएर उठाउँछन्। अनि, ती सम्पन्न युवतीलाई साधारण मान्छेले खेद्छन्। अर्थात ती साधारण मान्छे पनि अरु नागरिक बराबर हुन्छन्।

झट्ट हेर्दा रिलझैं लाग्ने यो दृश्य मंगलबार अटेरी अभियानले मूल्यवृद्धिविरुद्द पोखराको पृथ्वीचोकमा गरेकाे सांकेतिक नाटकको हो। बढ्दो महँगीकाे मारमा परेका नागरिकको पक्षमा ऐक्यबद्धता जनाउँदै अटेरी अभियानले सांकेतिक नाटक प्रदर्शन गरेको हाे।

करिब ५ मिनेट लामो यो नाटकले चर्को मूल्यवृद्धिले सामान्य नागरिकको जीवनमा कत्तिको असर पारिरहेको छ भन्ने देखाएको छ। नाटकमा अटेरी अभियानका अभियान्ताहरुले प्रस्तुती दिएका थिए।

अभियानका हरि कार्कीले नागरिकको पक्षमा सधैँ आवाज उठाइरहने बताए। यसअघि अभियानले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उनले अघि सारेका घोषणापत्रभित्रका केही योजनाहरुको लिस्ट तयार पारेर बुझाएको थियो।

‘महँगीले सामान्य नागरिकको दिनदिनै ढाड सेकिरहेको छ। सम्पन्न नागरिकलाई कुनै फरक नै परेको छैन। बाँच्नै गाह्रो हुने अवस्था आएको छ, यो हुनुहुन्न,’ उनले भने।

बेथितिविरुद्ध सधैँ खबरदारी गरिरहने उनले सुनाए। स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरुको राष्ट्रिय भेला केही दिनभित्र पोखरामा सुरु गर्ने उनले बताए।

पोखराबाट भेला सुरु भएर काठमाडौंमा बृहत राष्ट्रिय सम्मेलन गर्ने गरी विभिन्न स्वतन्त्र उम्मेदवार, अभियन्ता र आन्दोलन चलाइरहेकाहरुको छलफल चलिरहेको उनले जानकारी दिए।

अभियानका गनेस पौडेलले राज्यले दिनहुँ नागरिकलाई महँगीको नाममा ज्यादती गरिरहेको बताए। ‘हामी सरकारविहीनता, अभिभावकविहीनताको महसुस आम नेपाली नागरिकले गरिरहेका छौं। यसको हामी घोर भत्र्सना गर्दछौं। यसमा सरकारको ध्यानाकर्षण होस्,’ उनले भने।

चर्को मूल्यवृद्धिले सामान्य नागरिकमा कस्तो असर परिरहेको छ भन्ने कसैले मूल्यांकन नै नगरेको उनले बताए। नाटकको परिकल्पना अभियान रामबहादुर थापाले गरेका थिए।

प्रकाशित मिति: : 2022-06-21 16:13:00

प्रतिकृया दिनुहोस्