कृषकका समस्या: गैर कृषकले पाए अनुदान, भएन बजारीकरण

दाङको घोराही उपमहानगरपालिकालाई कृषकले आफ्नो समस्या सुनाएका छन्।

कृषकको समस्या सुन्नका लागि घोराही उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा कृषकले आफ्नो विभिन्न समस्या सुनाए।

घोराही–१७ का बंगुर व्यवसायी वीरबहादुर चौधरीले अहिले बंगुरको मासु बजारीकरण गर्न समस्या रहेको सुनाए। उनले बंगुरको बजार खस्किँदै गएको भन्दै बजार व्यवस्थापन गरिदिनका लागि उपमहानगरसँग आग्रह गरे।

‘बजारको अभावले कृषकले आफ्नो मालको पनि मूल्य गर्न पाइरहेका छैनन्’, बंगुर व्यवसायी संघ घोराही नगर कमिटीका अध्यक्षसमेत रहेका वीरबहादुरले भने, ‘व्यापारीले मनपरी मूल्य गर्दा बंगुर व्यवसाय घाटामा छ। किसान मर्कामा छन्।’

उनले बंगुरको व्यवसाय खस्कँदो र दानाको मूल्य भने बढ्दो रहेकाले आफूहरु थप मारमा परेको बताए। उनले यदि बंगुर व्यवसायलाई उकास्ने हो भने दानामा भइरहेको मूल्यवृद्धि कम गर्नुपर्ने, बंगुर पकेट क्षेत्र घोषणा गर्नुपर्ने, अनुदान वास्तविक कृषलाई दिनुपर्ने लगायत माग राखे।

यस्तै कृषक किशोरराज चौधरीले अहिलेको समस्या वास्तविक कृषले अनुदान नपाउनु रहेको बताए। भैंसी पालन व्यवसाय गर्दै आएका किशोरराजले भने, ‘अनुदान थुप्रै आएको सुनिन्छ। त्यो अनुदान गैर कृषकले पाउने गरेका छन्। हामी जस्तो कृषकले पाउन सकेका छैनौँ।’

मासु व्यवसायी पूर्णबहादुर केसीले बजारमा अन्य सामानको मूल्य निरन्तर वृद्धि भइरहँदा मासुको मूल्यमा वृद्धि हुन नसकेको बताए। जसले गर्दा मासु व्यवसायीले जोखिम मोलेर व्यवसाय गर्नु परेको उनको भनाई छ।

व्यवसायी केसीले अब मासु व्यवसायलाई आधुनिक बनाउन सकिएन भने थप चुनौति बेहोर्नु पर्ने बताए। जसका लागि व्यवसायीले ठूलो लगानी गरेर आधुनिक प्रविधि भित्र्याउन नसक्ने र त्यसका लागि उपमहानगरले सहयोग गर्नुपर्ने उनको माग छ।

यस्तै ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाकी बजार व्यवस्थापक सुशिला वलीले बजारमा कुनै पनि सामानको मूल्यमा एक रुपता हुन नसकेको बताइन्। मूल्यमा एक रुपता हुन नसक्दा आफूहरुले कृषकबाट किनेको सामानहरु बिक्री गर्न पनि समस्या भइरहेको उनको भनाई छ।

केसीले बजारमा कुनै पनि वस्तु (तरकारी, दुध, खसी, बोका, दाना) को मूल्यमा एकरुपता हुन सक्यो भने सहकारीबाट पनि बजारीकरण गर्न सहज हुने धारणा राखिन्। उनले बजारमा वस्तुको मूल्यमा एक रुपता कायम गर्नतर्फ घोराही उपमानगरको ध्यान जान आवश्यक रहेको बताइन्।

घोराही उपमहानगरपालिकाका अर्थ समिति संयोजक खोपिराम चौधरीले कृषकबाट आएका समस्याहरुको समाधान गर्नतर्फ घोराही उपमहानगरले हरसम्भव प्रयास गर्ने बताए।

‘तपाईंहरुको गुनासो सुन्नका लागि आज यो अन्तर्क्रिया कार्यक्रम राखिएको छ। तपाईंको समस्या टिपिएको पनि छ,’ उनले भने, ‘समस्या समाधान गर्नेतर्फ हाम्रो प्रयास हुनेछ।’

प्रकाशित मिति: : 2022-06-21 19:05:00

प्रतिकृया दिनुहोस्