दिवाकर घले यु–२० टिमको म्यानेजर

दिवाकर घले गुरुङ नेपाली यु–२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यु-२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो।

घलेले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन्। भारतको ओडिसामा हुने प्रतियोगिता २५ जुलाईदेखि ३ अगस्टमा हुने तालिका छ।

यसपछि १० देखि १८ सेप्टेम्बरसम्म बहराइनमा हुने यु-२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ।

साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै, नेपालले २७ जुलाईमा श्रीलंका र ३१ जुलाईमा घरेलु टिम भारतविरुद्ध खेल्नेछ। नेपालले २ अगस्टमा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ।

यसैगरी यु-२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ। नेपालले १२ सेप्टेम्बरमा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ।

प्रकाशित मिति: : 2022-07-01 16:16:00

प्रतिकृया दिनुहोस्