दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ।
खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। खेल टी–२० फर्म्याटमा हुनेछ। यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो। अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो।
पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो। तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो।
यसपछि सन्दीप लामिछानेको कप्तानीमा नेपालले टिमले क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ। पहिलो खेल ४ जुलाई र दोस्रो ५ जुलाईमा रहेको छ।
त्यसलगत्तै नेपाली टिम स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ। जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन्।