नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दौरान रेनुकालाई चोट लागेको थियो। १९औं एसियन गेम्सको लागि प्रशिक्षणमा रहेकी रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएपछि ग्वार्काेस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरिएको थियो।
रेनुका १० हप्ता मैदान बाहिर रहेसँगै लगातार दोस्रो पटक घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले न्युज कारखानालाई जनाकारी गराए।
‘६–७ हप्ता मैदान बाहिर भनेको भए पनि उसले खेल्न गाह्रो नै हुन्थ्यो। शारीरिक व्यायामदेखि लिएर खेल्न डर, त्रासदेखि सबै कुरा हुन्छ,’ महर्जनले भने।
रेनुकाले चोट बोकेसँगै अनुभवी खेलाडी गुमाउँदा टिमलाई समस्या हुने र प्रतियोगिताका लागि अझै समय बाँकी रहेका कारण अन्य खेलाडीलाई तयारी गर्ने महर्जनले बताए।
‘रेनुकाको स्थानमा भएका खेलाडीलाई प्रयोग गर्नेछौं। राम्रो खेलाडीलाई गुमाएका छौ। उसको ठाउँमा अरु खेलाडीहरु छन्। तर, रेनुका जत्तिको राम्रो छैन। अझै समय छ। राम्रो खेलाडी ल्याउने कोसिस गर्छाै। तयारी नै मुख्य कुरा हो।’ पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेका महर्जनले भने।
अघिल्लो साता दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बसेको बैठकले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा सञ्चालन हुने निर्णय गरेको थियो।
यस अघि २०७५ सालमा नेपालमै साफ च्याम्पियनसिप आयोजना भएको थियो। विराटनगर स्थित सहिद रंगशालामा भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो।