बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो।

दोस्रोमा रहेको नवलपुरले ९ स्वर्ण, ६ रजत जित्दा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेस्रो स्थानमा रह्यो। उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले नगद १० हजार प्राप्त गरेका छन्।

बिहीबार र शुक्रबार पोखरा रंगशालामा भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य र छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ। उनीहरूलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने र असार २७ गते काठमाडौं पठाइने सदस्य सचिव तेजबहादुर गुरुङले बताए।

प्रकाशित मिति: : 2022-07-08 18:55:00

प्रतिकृया दिनुहोस्