एन्फा अध्यक्ष नेम्वाङलाई बैठक चलाउनै सकस, बिचैमा बैठक छाडेर हिँडे

अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बैठक बिहीबार बिहान साढे ८ बजेदेखि सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो।

‘निर्धारित समयभन्दा धेरै ढिला गरी सुरू भएकाे बैठक पनि अध्यक्षज्यू बीचमा नै उठेर हिँडेपछि स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले भने।

यसअघि गत सोमबारकाे लागि बाेलाइएकाे बैठक पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो।

आजकाे बैठकमा विविधसहित १२ बुँदामा एजेन्डा राखिएको थियाे। जसमा विवादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा थिए।

पछिलो समय पदाधिकारी नियुक्तिकाे विषय निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज यसै कारण दबाबमा छन्।

तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ। सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्त गर्न बाँकी छ।

प्रकाशित मिति: : 2022-07-21 10:53:00

प्रतिकृया दिनुहोस्