पोखरामा घरैपिच्छे होटल, एक रातकै १ हजारदेखि ३० हजारसम्म शुल्क

पोखरा घुम्न आउनेको सूचीमा स्वदेशीदेखि विदेशी हजारौं पर्यटक हुने गर्छन्। यहाँको सुन्दरताको परख गरेरै सकिन्न।

सुन्दर फेवाताल होस् या माछापुच्छ्रेको मनै लोभ्याउने दृश्य। प्रकृतिका अनुपम बरदान हेर्न पोखरा ओइरिन्छन्, वर्षेनी हजारौं पर्यटक। फेवातालमा बोटिङदेखि, सराङकोटबाट प्याराग्लाइडिङ, बञ्जी, अल्ट्रालाइट गर्ने धोको बोकेर मान्छेहरु पोखरा आउने गर्छन्।

उसो त पोखरा परतिरका गन्तव्यहरु मुस्ताङ, बेनी, अन्नपूर्ण फेरोमा पदयात्रामा निस्किन पनि पोखरा पुग्नै पर्‍यो। पोखरा गन्तव्य बनाएर आउनेहरुको संख्या पनि कमि छैन।

पर्यटकीय गतिविधि अल्लि बढी हुने। पर्यटकहरुको पनि बेसि नै घुँइचो पोखरामा हुने हुँदा बेलाबेला पोखरालाई पर्यटकीय राजधानी बनाउने चर्चा पनि चल्छ। भलै त्यो बहस उत्तिखेरै सेलाउँछ पनि। तर, पोखराको प्राकृतिक सुन्दरताले धेरैको मन लोभ्याएको छ नै !

०००

पोखरामा सबैभन्दा बढी लगानी पर्यटनमै छ। बढीभन्दा बढी पर्यटक पोखरामै आउने भएर पनि हो, पोखरालाई पर्यटकीय राजधानीभन्दा फरक पर्दैन। खचाखच पर्यटकको आइरो लागिरहने पोखरामा होटल व्यवसायमा मात्रै झण्डै ४ खर्बभन्दा बढी लगानी रहेको बताइन्छ। सुविधासम्पन्न होटलमा दिनहुँ लगानी थपिदै पनि छ।

पोखरामा घरैपिच्छे होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा छ भन्दा पनि फरक पर्दैन। यसकारण पोखरा पर्यटन व्यवसायको अति नै व्यस्त बजार हो। पछिल्लो तथ्यांकअनुसार पोखरामा ४ सय बढी होटल सञ्चालनमा छन्। १ तारेदेखि ५ तारेहोटलहरु पोखरामा सञ्चालनमा छन्। पछिल्लो समय सुविधासम्पन्न लक्जरी होटल खोल्ने क्रम पनि बढी नै रहेको छ।

पोखरामा हाल सञ्चालनमा रहेका यी होटलहरुले एक रातको १ हजार रुपैयाँदेखि २५/३० हजार रुपैयाँसम्म शुल्क लिन्छन्। नाइट लाइफ रुचाउनेका लागि लेकसाइट अति नै व्यस्त छ। प्राय:जसो होटल लेकसाइडमै केन्द्रित छन्।

होटल व्यवसायीको संस्था पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा होटलको न्यूनतम शुल्क एक रातको १ हजार रुपैयाँबाट सुरु हुने बताए। ‘मिनिमम टुरिस्ट स्ट्याण्डर्डको होटलले १ हजार रुपैयाँभन्दा कममा राख्दैनन्। त्यहाँभन्दा माथि स्टार होटलहरुले लिन्छन् १५ देखि १६ हजार रुपैयाँ स्टार होटलहरुले,’ उनले भने।

घरधन्दा सकेर व्यवसायमा फराकिलो परिचय

पोखराका २ वटा ५ तारे होटलमध्ये फूलबारी रिसोर्ट अहिले बन्द छ। पोखरा ग्रान्ड भने चालु अवस्थामै छ। पोखरामा दिनहुँ होटल थपिने क्रममा रहेको उनले सुनाए। ‘लेकसाइड बाटोतिर हेर्नु भयो भने बन्ने क्रममा पनि छन्। बनिसकेका पनि छन्। सञ्चालनको तयारीमा छन्,’ उनले भने।

ठुला होटलहरुको शुल्क नै २५ देखि ३० हजार रुपैयाँसम्म पर्छ। ‘स्वीट रुम हुन्छन्। नर्मल्ली १ हजारभन्दा तल्लो राख्दैनन्। सानो स्ट्याण्डर्ड होटलले,’ उनले भने।

मध्यम खालका होटलले ३ हजारदेखि ३५ सय रुपैयाँसम्म लिन्छन्। नर्मल्ली एसी भएका होटलहरुको रेट ३५ सय ४ हजार रुपैयाँसम्म पर्न जान्छ। ‘ठिकै खालका चलेका वन स्टार १० हजारभन्दा माथि छन्। त्यहाँभन्दा माथिका पोखरा ग्राण्ड १५/२० हजार। स्वीट रुमहरु २५/३० हजार रुपैयाँसम्म पर्छ,’ उनले भने।

पोखरामा सञ्चालित होटलमध्ये कोभिड लकडाउनले ठुलो होटलमध्ये सांग्रिला होटल बन्द अवस्थामा छ। अन्य होटल भने कोभिडले व्यवसायी विस्थापित भए पनि होटल चालु अवस्थामा रहेको उनले सुनाए। ‘होटलहरु बन्द हुँदै हुँदैनन्। होटल गेष्ट हाउसहरु प्राय: जसो भाडमा चलाउनेहरुले छोडे भने पनि घरधनीले चलाउने गर्छन्। घरधनीले फेरि अर्कोलाई दिन्छ। व्यवसायी विस्थापित भएका होलान्। २०/२५ प्रतिशत जति। तर, होटल व्यवसाय बन्द भएको छैन,’ उनले भने।

वर्षौदेखि व्यवसाय गर्दै आएकाहरुले अन्य व्यवसाय गर्दै आएका अवस्था रहेको उनले सुनाए। ती होटल कुनै घरधनीले लिएको, कुनै नयाँ सञ्चालक आएको अवस्था छ। ‘पूरै बन्द भएको अवस्था होइन। अर्कोमा हस्तान्तरण। व्यवसायी परिवर्तन हुँदै आएको छ। ड्यामसाइडतिर प्राय: भाडमा लिएर होटल चलाउने गरेको छ, चलन छ। सञ्चालक परिवर्तन भएको छ। तर, व्यवसायी उही नै छ,’ उनले भने।

पाेखरा घुम्न आउँदा यी हुन् पुग्नै पर्ने ठाउँहरू

प्रकाशित मिति: : 2022-07-27 21:16:00

प्रतिकृया दिनुहोस्