प्रकृतिलाई उपेक्षा: पहिरो खस्दै, बस्ती डुब्दै

बर्खा सुरू हुनासाथ कहाँ के हुने हो भन्ने त्रास पैदा भइहाल्छ। ठाउँ–ठाउँमा बाढी, पहिरो र डुबान नयाँ विषय नै भएन नेपालको परिप्रेक्ष्यमा।

आइतबार रातिदेखि देशैभरि पानी पर्यो। सबैभन्दा बढी पोखरामा परेको छ। १५ घण्टामा मात्रै पोखरामा २ सय ४९ मिलिलिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ।

वर्षाका कारण पहिरो खस्दा पोखरा–६ डिहिगोपाटनस्थित लक्ष्मी खड्का क्षेत्रीको घर भत्किँदा उक्त घरमा डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–१ का सन्तोष सुनारको मृत्यु भयो। यस्तै, पोखरा–१३ कमलपोखरी क्षेत्रका घरभित्रै बाढी पस्यो।

पानीले निकास नपाउँदा कमलपोखरी क्षेत्र आसपासका घरहरू जलमग्न बनेका छन्। अहिले पानीको सतह केही कम भए पनि अधिकांश घरहरू डुबानमै रहेको पोखरा–१३ का वडाध्यक्ष किरण बरालले जानकारी दिएका छन्।

‘अहिले पानीको मात्रा धेरै घटेको छ। पानीलाई अर्कै दिशामा लैजानका लागि हामीले कोसिस पनि गरिरहेका छौं,’ उनले भने।

कमलपोखरी आसपासका डेढ सय घर डुबानमा परेको उनले बताएका छन्। डुबानमा परेका घरमध्ये केही घरमा बस्न मिल्ने अवस्था छैन। बस्न नमिल्नेहरूका हकमा वडाले राहत सामग्री उपलब्ध गराएको उनले बताएका छन्।

कमलपोखरी क्षेत्र सन् २०१६ सालमा रामासार क्षेत्रमा सूचिकृत भइसकेको छ। कमलपोखरी क्षेत्र अघिल्ला वर्ष पनि यसरी नै डुबानमा पर्दै आएको थियो।

किन डुब्छ कमलपोखरी?

भू–गर्भ इन्जिनियर किसानसिंह गुरूङ कमलपोखरी क्षेत्रको भौगोलिक अवस्था अध्ययन बिना नै घर बनाउँदा डुबानमा परेको बताउँछन्।

‘कमलपोखरी माथिपट्टी भिरालो वन छ। ‘वनमाथि भिरालो ठाउँ छ। तलपट्टी घरहरू बनेको छ। तलको भागलाई काटेर घर बनाइएको छ, यसरी गर्न नहुने हाे’, उनले भने, ‘भौगोलिक हिसाबले हेर्दा माथि माटो। तल चट्टानहरू छ। घर बनेकोतरि चिप्लिएर आउँछ, पानीले निकास पाउँदैन।’

घरको पहरा बनाउँदा पानी निकास हुने ठाउँ नपाएर कमलपोखरी डुबानमा पर्ने गरेको उनले सुनाएका छन्।

वनमा रसाउने कुलोहरू पनि सोझै कमलपोखरी झर्छ। बर्खामा पानी अत्यधिक पर्दा ति कुलो पनि सिधै कमलपोखरी झर्छ। यसले गर्दा कमलपोखरी क्षेत्र सधैँ डुबानमा पर्ने उनले सुनाएका छन्।

‘कुलोहरू सबै ओभार फ्लो भएर झर्छ। पानी जाने ठाउँ अन्त नभएपछि डुबानमा पर्ने नै भयो,’ उनले भने।

यसरी भौगोलिक अवस्थाको राम्रो अध्ययन बिना नै बस्ती बस्दा डुबानमा परेको उनले बताएका छन्। यसको रोकथामका लागि रिटेनिङ वाल लगाए सम्भव हुने उनी बताउँछन्। रिटेनिङ वाल लगाउँदा खर्च बढी लाग्ने उनले सुनाएका छन्।

प्रकाशित मिति: : 2022-08-01 17:40:00

प्रतिकृया दिनुहोस्