घाँस काटेको निहुँमा कुटपिट, ९ दिनपछि मृत्यु

चन्द्रकलाका श्रीमान सकलदिप राय
चन्द्रकलाका श्रीमान सकलदिप राय

सुनसरीमा घाँस काटेको विषयमा कुटपिट हुँदा एक महिलाको ९ दिनपछि मृत्यु भएको छ। सुनसरीको बर्जु गाउँपालिका-३ की ३४ वर्षीया चन्द्रकलादेवी रायको मृत्यु भएको हो।

रायलाई छिमेकी सङ्गीता रायसहितका उनका परिवारले घाँस काटेको विषयलाई लिएर गत १३ साउनमा कुटपिट गरेका थिए। खेतमा घाँस काटेको विषयमा चन्द्रकला र संगीताबीच विवाद उत्पन्न भएको थियो।

विवादका क्रममा संगीताले चन्द्रकलामाथि निर्घात कुटपिट गरेकी थिइन्। कुटपिटबाट घाइते भएकी चन्द्रकलादेवीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई कोसी अस्पताल विराटनगरमा राखेर उपचार भइरहेको थियो।

चन्द्रकलाको मृत्युपछि पीडित परिवारले दिएको उजुरीका आधारमा ४० वर्षीय संगीतादेवी रायलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको मोरङ प्रहरीले जनाएको छ।

कुटपिटबाट जाहेरी मृत्यु भएको आएको र घटनास्थल सुनसरीमा भएकोले थप अनुसन्धानको लागि सुनसरी प्रहरीमा पढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

कसरी भयो घटना? भन्ने बारेमा चन्द्रकलाका श्रीमान सकलदिप रायसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :

चन्द्रकलाको घरदेखि सङ्गीताको घर १० मिटर पूर्व पर्दछ। मृतक चन्द्रकला गाइवस्तुका लागि घाँस काट्न छिमेकीसमेत रहेकी सङ्गीताको खेतबारीमा पुगिन्। चन्द्रकला घाँस काटिरहेकी थिइन्।

आफ्नो बारीमा किन घाँस काटेको भन्दै सङ्गीतासहित उनका छोरा र छोरीले कुटपिट गर्न थाले। चन्द्रकला पहिला देखि नै शारीरिक रुपमा कमजोर थिइन्। कुटपिटबाट चन्द्रकला त्यही ढलिन्।

चन्द्रकला भुइँमा लडेकै बेला सङ्गीताले चन्द्रकाको हात समाइन्। त्यसपछि उनका छोरा र छोरीले कुटे। उनीहरूले श्रीमतीलाई शरीरको विभिन्न भागमा कुटपिट मात्र गरेनन्, योनीमा पनि हात हालेर आक्रमण गरेका रहेछन्। अस्पताल पुर्याउँदासम्म यौनीबाट रगत बगिरहेको थियो।

बढी ब्लिडिङ्ग भएकै कारणले श्रीमतीको मृत्यु भएको भनेर डाक्टर सरले भन्नुभयो।

प्रकाशित मिति: : 2022-08-08 15:34:00

प्रतिकृया दिनुहोस्