बढ्दै कोरोनाको ग्राफ, मन्त्रीले नै पालना गर्दैनन् स्वास्थ्य मापदण्ड

Breaknlinks
Breaknlinks

केही समययता मुलुकमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ। सार्वजनिकस्थल लगायतका क्षेत्रमा भीडभाड उस्तै छ। न त मास्कको प्रयोग हुन्छ, न त सामाजिक दुरी नै अपनाइन्छ।

कोरोना संक्रमणको जोखिम बढे पनि प्रदेश १ मा भने सरकारका मन्त्रीहरुले नै सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेका छैनन्।

बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहित सप्तकोसीबाट प्रभावितको अवस्था बुझ्न उदयपुर पुगे। तर उनीहरुले सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेनन्।

अर्को रोचक कुरा त के छ भने, मुख्यमन्त्री राई केही दिनअघि मात्रै कोरोना संक्रमित भएर निको भएका हुन्। कोरोना संक्रमण भएपछि ७ दिन होम आइसोलेसनमा बसेपछि बुधबार मात्र सार्वजनिक कार्यक्रममा पहिलो पटक सहभागी भए। संक्रमणमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका उनले स्वास्थ्य मापदण्डको कुनै पालना गरेनन्। उनीसँगै गएका मन्त्रीहरुले पनि त्यसको कुनै ख्याल गरेनन्।

त्यस्तै, प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादव पनि मापदण्डप्रति जिम्मेवार भएनन्। मन्त्री यादव मंगलबार सुनसरीको इटहरीमा आयोजित विश्व आदिवासी दिवसमा मास्क विनै कार्यक्रममा सहभागी भए। विभागीय मन्त्री यादवले नै कोभिड-१९ विरुद्ध लड्न स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन्।

बढ्दै कोरोना

प्रदेश १ मा कोरोना संक्रमणको दर बढ्दो छ। प्रदेशमा दैनिक जसो संक्रमितको संख्या बढिरहेकाे छ। पछिल्लो तीन सातामा प्रदेशमा १ हजार ३३८ जनामा कोरोना संक्रमण भएको छ।

सक्रिय संक्रमितको संख्या चार सय ४० जना छ। संक्रमितमध्ये चार सय २६ जना  होम आइसोलेसनमा छन्। १४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

प्रदेशमा हालसम्म कोरोनाबाट दुई हजार दुई सय ६१ जनाको मृत्यु भएको छ। यस्तै १ लाख ७३ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रशासनको निर्णय फितलो

मोरङ कारागारमा एकै पटक ठुलो संख्यामा कैदिबन्दीमा कोरोना देखिएपछि कारागार कोरोनाको ‘हटस्पट’ बन्यो। त्यसलगत्तै मोरङ जिल्ला प्रशासनले आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्यो।

जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

प्रशासनले निर्णयलाई कडाईका साथ कार्यान्वयन गराउने बताइरहँदा सरकारका मन्त्रीहरु भने सार्वजनिक कार्यक्रम, समारोहमा मास्क विनै सहभागि हुने गरेका छन्।

प्रकाशित मिति: : 2022-08-11 13:20:00

प्रतिकृया दिनुहोस्