गाई जात्रा एवं कृष्णाजन्माष्टमीका अवसरमा नगेन आर्ट एकेडेमी र विश्वहिन्दू युवा सङ्घको संयुक्त आयोजनामा बिहीबारदेखि पोखरामा ‘गाई’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ।
विश्व कलायात्री कलाकार नगेन सिंहको ११औँ एकल चित्रकला प्रदर्शनीमा सो शीर्षकमा २१ वटा कला प्रदर्शनीमा छन्।
प्रदर्शनीको उद्घाटन गर्दै विश्व हिन्दू महासङ्घका सल्लाहकार बेदनिधि शर्माले गाई शीर्षकको कला प्रदर्शनीले हिन्दू धर्मको संरक्षणमा टेवा पुग्ने बताए। नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले कला साहित्यको संरक्षण र प्रवद्र्धनले मात्र मुलुक समृद्धितर्फ जाने धारणा व्यक्त गरे।
कलाकार सिंहले कला विकासका लागि ललितकला विकास बोर्डको स्थापना गर्न सरकारसँग माग गरे। वरिष्ठ कलाकार लोकप्रसाद गुरुङ, सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजु, विश्व हिन्दू महासङ्घ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमाल, विश्व हिन्दू महासङ्घ कास्कीका सचिव गीता कँडेललगायतले गाई शीर्षकमा गरिएको प्रदर्शनी महत्वपूर्ण बन्ने विश्वास रहेको बताए।
कलाकार सिंहले यसअघि १० वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौँ सामूहिक चित्रकला प्रदर्शनीमा सहभागी भइसकेका छन्। विश्व हिन्दू युवा सङ्घको केन्द्रीय सदस्य तथा ललितकला विभाग प्रमुख रहेका सिंहको जीवनीमा आधारित वीरेन्द्र हमाल निर्देशित नग्न तृष्णा नाटक २०६४ मा मञ्चन भइसकेको छ।