नवगायक करण राईको पहिलो गीति एलबम ‘द काइट्स’ सार्वजनिक भएको छ।
राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे।
एलबम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डकासाथ गाएका थिए। बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन्।
एल्बममा ९ गीत समावेश छन्। एलबमको एक गीत ‘फुलै राम्रो’ मा करणलाई गायिका मेलिना राईले साथ दिएकी छन्। गीतहरुमा प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ।
त्यस्तै देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ। सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन्।