रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु : मन्त्री ढकाल

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्री ढकालबीच शनिवार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। भेटघाटमा भक्तपुरको खेलकुद क्षेत्रको विकास र खेलमैदान स्तरोन्नति गर्ने विषयमा पनि छलफल भएको भक्तपुर नगरपालिकलो जनायो।

भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरको महेश्वरी रंगशाला निर्माण र सहिद स्मृति खेलमैदान स्तरोन्नतिमा ध्यानाकर्षण गराए। मन्त्री ढकालले भक्तपुरमा महेश्वरी रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरूमा पूर्णकालीन खेल प्रशिक्षकहरूको नियुक्तिका साथै अन्तरनगर खेलकुद र अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिककाे जीवनकाे अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको बताए। उनले भक्तपुर नगरपालिकाको ठाउँठाउँमा खेलकुद कभर्ड हलको निर्माणको क्रम जारी रहेको अवगत गराए।

भेटघाटमा ख्वप कलेज अफ इन्जिनियरिङका ई. अमिल प्रजापतिले महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको डिजाइन प्रस्तुतीकरण गरेका थिए। 

प्रकाशित मिति: : 2022-08-13 16:08:00

प्रतिकृया दिनुहोस्