विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरूको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियोले तयारी सुरु गरेको छ।
क्लबले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो। क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिराज महर्जन र विशिष्ट अतिथिमा नियो हेल्थ क्लिनिकका सूर्य कुवरको उपस्थिति थियो। प्रतियोगिताको लागि लियोपार्डलाई १८ वटा प्रायोजकले सहयोग गरेको छ।
कार्यक्रममा बोल्दै पूर्व कप्तान बिराज महर्जनले यस्ता प्रतियोगिताहरूबाट फिजियोहरूले खेलाडीको मनोभाव बुझ्न सहयोग पुग्ने बताए।
‘खेलाडीहरूका स्वास्थ्यका लागि महत्त्वपूर्ण सहयोगीको रूपमा मैदानमा बस्नुहुने फिजियोथेरापिस्टहरूको यस्ता प्रतियोगिताबाट खेलाडीहरूको मनोभावलाई अझ गहिरिएर बुझ्न सहयोग पुग्नेमा म विश्वस्त छु। प्रतियोगिताको लागि लियोपार्ड फिजियोलाई शुभकामना दिन चाहन्छु,’ बिराजले भने।
यस्तै, क्लबका मालिक भुसालले प्रतियोगिताको उपाधि जिते शतप्रतिशत रकम खेलाडीहरूलाई दिने र एक गोल बराबर पाँच सय रुपैयाँ प्रदान गरिने बताए।
‘हरेक खेलमा खेलाडीसँगै रहने फिजियोहरूलाई पनि मनोरञ्जन दिने हाम्रो उद्देश्य हो। हामीले प्रतियोगिताको उपाधि जितेको खण्डमा प्राप्त नगद सबै खेलाडीलाई दिनेछौँ। र, प्रतियोगितामा प्रत्येक गोलबापत पाँच सय रुपैयाँ दिने निर्णय गरेका छौं,’ भुसालले भने ।
भदौ २३ गते फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ ९नेस्ट० आयोजना हुने प्रतियोगितामा काठमाडौंका ६ र दुई मोफसलका गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसँगै ट्रफी र मेडल पुरस्कार पाउनेछन्।
लिग कम नकआउट पद्धतिमा चल्ने प्रतियोगिताको सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।