रक गार्डेन: जहाँ ढुङ्गाहरू बोल्छन् (फोटो फिचर)

कमल प्रभात

सन्धिखर्क

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा अवस्थित रक गार्डेनमा ढुङ्गाबाट प्राकृतिक रूपमा बनेका अनेकौं आकृतिहरू देख्न पाइन्छ।

हरियो भूभागको बीचमा जताततै काला ढुङ्गाहरू रहेकोले यो ठाउँलाई पहिला-पहिला काल्ढुङ्गा भनिथ्यो। केही वर्षयता यसलाई रक गार्डेनको नामबाट पर्यटन प्रवर्द्धनको रूपमा विकास गर्ने कोसिस गरिएको छ।

जिल्ला सदरमुकाम सन्धिखर्कबाट केही समयको यात्रापछि पुग्न सकिने यहाँ मानिस घुम्न तथा अध्ययन अनुसन्धानको लागि आउने गर्छन्।

निक्कै प्रख्यात जालकाँडाको काखैमा रहेको रक गार्डेनबाट अर्घाखाँचीका धेरै भूभाग नियाल्न सकिन्छ भने मौसम खुलेको बेला यहाँबाट दर्जनौं हिमालहरू हेर्न र फोटो खिच्न सकिन्छ। हाल यहाँ आसपासका विभिन्न ठाँउका मानिसहरू पिकनिकको लागि आउने गर्छन्।

विशेषगरी यहाँ युवा-युवतीहरू डेटिङको लागि पुग्ने गर्छन्। रोचक र अनौठा ढुङ्गाकृति रहेको यस ठाउँमा बसेर वारिपारीका डाँडा/पाखाहरू नियाल्दै गफिन पाउनुमा आनन्द मान्छन्, उनीहरू। यहाँका ढुङ्गाहरू फरक-फरक आकृतिमा आडिएका छन्, जहाँ मानिसहरू गहन रूपमा कल्पिन सक्छन्। यी ढुङ्गाहरूले पनि अनेकौं कथाहरू बोलेका छन्।

त्यस्तै ढुङ्गाहरूको छेउमा रहेको कठिन मैदानमा पनि यहाँका युवा क्रिकेट खेल्छन्। यस्तो कठिन मैदानमा खेल खेलेको देख्न पाउनु बाहिरबाट आउने मानिसको लागि रोचक लाग्न सक्छ।

केही वर्षयता यहाँ युवाले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीयस्थलको रूपमा विकास गर्ने जमर्को गरे पनि स्थानीय निकायहरूले चासो भने दिएको पाइँदैन। तर, यसलाई थप नयाँ तरिकाबाट विकसित गर्न सकेमा प्रकृति प्रेमीहरूको उत्कृष्ट गन्तव्य बन्न सक्छ।

प्रकाशित मिति: : 2022-08-23 21:30:00

प्रतिकृया दिनुहोस्