लघुकथा समाज नेपाल १ नम्बर प्रदेशले लघुकथा दिवसका अवसरमा तीन लघु कथाकारलाई पुरस्कृत गर्ने भएको छ।
लघुकथा क्षेत्रमा योगदान पुर्याएको जनाउँदै क्रियाशील लघु कथाकार मनोहर पोखरेल (सप्तरी), इन्दु तोदी (सुनसरी) र विष्णु भण्डारी आचार्य (मोरङलाई) पुरस्कृत गर्ने समाजले जनाएको छ।
विराटनगरस्थित नेपाल पत्रकार महासङ्घ मोरङको सभाकक्षमा शुक्रबार आयोजना हुने कार्यक्रममा ती कथाकारलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने समाजका अध्यक्ष ममता मृदुलले बताए।
समारोहमा नाट्यकर्मी अशेष मल्ल, लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ विवश पोखरेल र अग्रज साहित्यकार दधिराज सुवेदीको सहभागी हुने उनले बताए।
सोही कार्यक्रममा लघुकथा प्रतियोगितामा विजयी १० विभिन्न विद्यालयका विद्यार्थीलाई समेत पुरस्कृत गरिनेछ।