मोरङ १ : गठबन्धनको भरमा एमालेलाई पराजित गर्ने दाउमा कांग्रेस

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका मोरङ क्षेत्र नम्बर १ मा नेताहरुको दौडधुप सुरु भएको छ। मोरङ १ मा एउटै दलभित्र धेरै आकांक्षी छन्। उम्मेदवार बन्नका लागि पार्टीभित्रैबाट हानथाप र तछाडमछाड चलिरहेको छ।

सम्भावित उम्मेदवारहरुले कार्यकर्ता र पार्टीका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्। आफू निकट उम्मेदवारको पक्षमा कार्यकर्ताहरुले फेसबुकलगायतका सामाजिक सञ्जालमा फोटो हालेरसमेत प्रचार गर्न थालिसकेका छन्।

अघिल्लो निर्वाचनमा एमाले-माओवादीको वाम गठबन्धनसँग संघ र प्रदेशमा कांग्रेस पराजित भएको थियो। यसपटक एमालेविरुद्ध सत्ता गठबन्धनको भिडन्ता रोचक हुने अनुमान लगाउन थालिएको छ।

यसपटकको निर्वाचनमा मोरङ-१ मा एमालेबाट दुई जना आकांक्षी छन्। उनीहरु दुवै जना अहिले सांसद छन्। एमालेबाट २०७४ को निर्वाचनमा विजयी बनेका घनश्याम खतिवडा पुनः उम्मेदवार बन्ने दौडमा छन्। तर खतिवडालाई आफ्नै पार्टीकी समानुपातिक सांसद तथा पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेको चुनौती छ। तुम्वाहाम्फे पूर्व उपसभामुख पनि हुन्।



मोरङ १ : गठबन्धनको भरमा एमालेलाई पराजित गर्ने दाउमा कांग्रेस

झापा ३ : सिटौलालाई गठबन्धनको भर, लिङ्देनलाई एमालेको 



अघिल्लो निर्वाचनमा मोरङ-१ मा घनश्याम खतिवडा विजयी भए। उनले प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर लिम्बुलाई ६ हजार ८८ मतकाे फराकिलो मतान्तरले पराजित गरेका थिए। खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गरे भने कांग्रेस लिम्बुले ३१ हजार ४ सय ३६ मत मात्र प्राप्त गरेका थिए। लिम्बू हाल नेपाली कांग्रेसको जिल्ला सभापति छन्। 

२०७० को निर्वाचनमा भने तीनै लिम्बूले खतिवडालाई पराजित गरेका थिए। एमाले माओवादीको वाम गठबन्धनको फाइदा लिँदै खतिवडाले ०७४ मा भने उनै लिम्बूसँग बदला लिए।

विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा लागेका खतिवडा सादगी, वौद्धिक एवं मिलनसार नेताका रुपमा परिचित छन्। पछिल्लो समय संसदमा राष्ट्रियताका विषयलाई लिएर उनको उपस्थिति बाक्लो हुने गरेको छ।

गाविस अध्यक्ष हुँदै सांसदसम्म बनेका खतिवडालाई शिवमायाको चुनौती बढेसँगै मोरङ-१ लाई चासोका रुपमा हेरिएको छ।

गठबन्धनमा धेरै आकांक्षी

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका डिकबहादुर लिम्बू प्रमुख दावेदार हुन्। लिम्बू कांग्रेसको १४ औँ महाधिवेशनबाट जिल्ला सभापति निर्वाचित भएका छन्।

२०७० को निर्वाचनमा नेकपा माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई चुनाव हराएर लोकप्रिय बनेका लिम्बू ०७४ को निर्वाचनमा भने एमाले-माओवादीको वाम गठबन्धनसँग पराजित भए। लिम्बू यसपालि गठबन्धनको सहयताले एमालेलाई पराजित गर्ने दाउमा छन्।

त्यस्तै कांग्रेसबाट उर्लाबारी नगरपालिकाका पूर्वमेयर खड्ग फागोले पनि दावी गरिरहेका छन्। २०७४ को निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरमा निर्वाचित भएका फागो गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने एमालेका गंगाप्रसाद खरेलसँग पराजित भए। कांग्रेसको १४ औँ महाधिवेशनबाट प्रदेश १ को सहमहामन्त्रीमा निर्वाचित भएका फागोले प्रतिनिधिसभामा आकांक्षा व्यक्त गरेका छन्।



मोरङ २ : एमालेलाई गठबन्धन भारी, कांग्रेसलाई गिरिजाको साख जोगाउन चुनौती

सुनसरीमा गठबन्धन नहुँदा पनि कांग्रेसलाई सहज, एमालेलाई सकस



सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजावदीका नेताहरु पनि उम्मेदवार बन्ने लाइनमा छन्। २०७४ को प्रदेशसभा सदस्यमा एमाले-माओवादीको वाम गठबन्धनबाट निर्वाचित भएका कुलप्रसाद लिम्बू (कुशल) र उपेन्द्र घिमिरेले पनि दावी गरिरहेका छन्।

०७४ को निर्वाचनमा प्रदेश (क) बाट एमाले माओवादीका तर्फबाट संयुक्त उम्मेदवार बनेका माओवादीका लिम्बूले कांग्रेसका ललित अधिकारीलाई पराजित गरेका थिए। लिम्बूले १९ हजार ५५४ मत ल्याउँदा कांग्रेसका अधिकारीले १५ हजार २३६ मत ल्याएका थिए। माओवादी केन्द्रका केन्द्रीय सदस्य लिम्बूसँगै प्रेम मिर्भिक र नगेन्द्र धिमाल पनि उम्मेदवारको लाइनमा छन्।

वाम गठबन्धनका तर्फबाट अघिल्लो निर्वाचनमा प्रदेश (ख) मा एमालेबाट उपेन्द्र घिमिरे निर्वाचित भए। उनी हाल एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा छन्। एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका घिमिरे अहिले प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री छन्।

उनले नेपाली कांग्रेसका ईश्वरी कोइरालालाई पराजित गरेका थिए। घिमिरेले १७ हजार ११७ मत ल्याउँदा कोइरालाले १४ हजार ३१० मत ल्याएका थिए। घिमिरे पनि गठबन्धन हुँदा आफ्नो पार्टीको भागबन्डामा परेको खण्डमा उम्मेदवार बन्ने चर्चा छ।

स्थानीय तहको मतका आधारमा एमाले बलियो

मोरङ क्षेत्र नम्बर १ मा उर्लाबारी र लेटाङ नगरपालिकासहित केराबारी र मिक्लाजुङ गाउँपालिका पर्छ। ४ पालिकामध्ये एमालेले उर्लाबारी, लेटाङ र केराबारी प्रमुख र उपप्रमुख दुवै जितेको छ। मिक्लाजुङमा कांग्रेस-माओवादीको गठबन्धन विजयी भएको छ। मिक्लाजुङमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख जितेको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामअनुसार एमाले बलियो देखिएको छ। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमाले बलियो देखिएको छ।

३७ वडा रहेको मोरङ-१ मा एमाले एक्लैले १९ वडा जितेको छ। कांग्रेस र माओवादीले क्रमशः १५ र ३ वडा जितेका छन्। वडाध्यक्षमा एमालेले ३२ हजार ३६६ मत पाएको छ। कांग्रेसले ३१ हजार ल्याउँदा माओवादीले ६ हजार ५८० मत ल्याएको छ।

प्रकाशित मिति: : 2022-08-25 19:12:00

प्रतिकृया दिनुहोस्