सुन्दर श्रेष्ठ (बागमती भाइ) को नेपाल भाषाको म्युजिक भिडियो ऐ ! मयजु शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। बागमती भाइद्वारा लिखित सफल प्रेम कथामा आधारित म्युजिक भिडियोको वरिष्ठ संगीतकार धनबहादुर गोपालीले लोकार्पण गरेका हुन्।
नेवा साधना कला केन्द्रको आयोजनामा भएको कार्यक्रममा गीतको म्युजिक भिडियो केन्द्रको युट्युव च्यानलमा राखिएको छ।
गीतको लेखन बागमती भाइले गरेका हुन्। म्युजिक भिडियोको कम्पोजर तथा एरेन्जरमा जुगल डंगोल रहेका छन्। गायकमा शतिश महर्जन र गायिकामा शुद्धलक्ष्मी श्रेष्ठ रहेका छन्। म्युजिक भिडियोको निर्देशन राम श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ नायक र आकृति महर्जन नायिकाको भूमिकामा छन्।
सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार गोपालीले संगीतको क्षेत्र जति सिकियो उति सिक्न बाँकी हुने अनुभव सुनाउँदै सार्वजनिक म्युजिक भिडियो स्तरीय रहेको बताए।
नेपाल भाषाको चलचित्रको पहिलो निर्देशक एवं रंग पत्रकार विजयरत्न अंशबरे, नेपाल भाषाका विज्ञ पौभा सायमीलगायतले सार्वजनिक म्युजिक भिडियोको विभिद् पक्षका विषयमा चर्चा गरे। कार्यक्रममा म्युजिक भिडियो निर्माणमा सहयोग गर्ने सम्पूर्ण टिमका सदस्यहरूलाई मायाको चिनो वितरण गरिएको थियो।