ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई २-० ले हराएको छ।
एन्टोनियो कोन्टेको टोलीले जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेल सम्म कायम राखेको हो। यसक्रममा टोटनहमले तीन खेल जितेको छ भने एक खेलमा अंक बाँडेको छ।
खेलको पाँचौ मिनेटमा केनको गोलमा टोटनहमले अग्रता लियो। केनले डेजान कुलुभेस्कीको पासलाई सदुपयोग गरेका थिए।
५६औं मिनेटमा केनले टोटनहमको अग्रता बढाउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्। केनको पेनाल्टी प्रहार नटिङघमका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए।
खेल सकिन नौ मिनेट बाँकी रहँदा केनले व्यत्तिगत दोस्रो गोल गर्दै टोटनमको जित पक्का गरेका थिए।
तेस्रो स्थानको टोटनहमको चार खेलमा १० अंक छ। समान खेल खेल्दै दोस्रो स्थानमा बसेको म्यानचेस्टर सिटीको पनि समान १० अंक छ भने शीर्ष स्थानको आर्सनलको १२ अंक रहेको छ।
यता वेस्ट हमले सिजनको पहिलो जित निकाल्ने क्रममा एस्टन भिल्लालाई १-० ले हरायो।