अमेरिकामा स्पेसल मास्टर नियुक्तिको आदेश, ट्रम्पलाई ठूलो राहत

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित निबासस्थान मारा लागोमा भएको एफबीआई छापा प्रकरणले नयाँ मोड लिएको छ । ट्रम्प राष्ट्रपति हुँदा फ्लोरिडा डिस्ट्रिक्ट कोर्टको न्यायाधीशमा नियुक्त संघीय न्यायाधीश एलिन क्याननले स्पेसल मास्टर नियुक्तिको आदेश दिएपछि यो प्रकरणमा ट्विस्ट आएको हो । 

यो आदेशसँगै अब मारा लागोमा छापा मारी एफबीआईले जफत गरेका कागजातहरूको सरकारी समीक्षा प्रभावित भएको छ । तर, आदेशमा 'सरकारले गुप्तचर वर्गीकरण र राष्ट्रिय सुरक्षा मूल्याङ्कनका लागि कब्जा गरिएका सामग्रीहरूको समीक्षा र प्रयोग जारी राख्न सक्छ' भनिएकाले समीक्षा प्रक्रिया कसरी अगाडि बढ्छ, भन्न सकिने अवस्था छैन ।

न्यायाधीशले ट्रम्पको कानूनी टोलीलाई शुक्रवारसम्ममा प्रस्तावित विशेष मास्टर उम्मेदवारहरूको नामावली बुझाउन समय दिएको छ । 

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मारा लागो एफबीआई छापा प्रकरणमा ठूलो राहत मिलेको छ। ट्रम्पले नियुक्त गरेकी एक संघीय न्यायाधीशले उनको माग बमोजिम  स्पेसल मास्टर नियुक्तिको आदेश दिएपछि यो राहत मिलेको हो ।

यो निर्णयबाट ट्रम्पलाई ठूलो राहत मिलेको छ । र, अमेरिकी मिडियाहरूले यो निर्णयलाई ट्रम्पको जीतका रूपमा अर्थ्याएका छन् । उनलाई स्पेसल मास्टरको सुविधा राष्ट्रपति भएकाले दिइएको बताइएको छ ।

स्पेसल मास्टर अदालतले आफ्नो तर्फबाट अनुसन्धानात्मक कारबाही अगाडि बढाउन नियुक्त गर्ने तेस्रो पक्षका विशेष कानुनी ज्ञाताको टोली हो । यो टोलीले एफबीआईले जफत मारा लागोबाट जफत गरेका कागजातहरुको अनुसन्धान गरेर तिनीहरू गोप्य हुन् कि हैनन् भन्ने निर्णय गर्छ । 

 

प्रकाशित मिति: : 2022-09-06 07:32:00

प्रतिकृया दिनुहोस्