एमाले दाङले टुंग्यायो उम्मेदवार सिफारिस, समानुपातिक बाँकी   

नेकपा एमाले दाङले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको टुंगो लगाएको छ। सोमबार साँझ मात्र एमाले दाङले उम्मेदवार सिफारिस टुंगो लगाएको हो।

एमाले दाङले तीन प्रतिनिधिसभा सदस्यका लागि ७ जनाको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २ मा मात्र सर्वसम्मत शंकर पोखरेलको नाम मात्र प्रतिनिधिसभाका लागि सिफारिए गरिएपनि १ र २ मा भने आकांक्षिहरु धेरै भएपछि ३–३ जनाको नाम पनि सिफारिस भएको छ।

जसअनुसार क्षेत्र नम्बर १ बाट प्रदेश कमिटी सदस्य रेउतिरमण शर्मा, केन्द्रीय सदस्यहरु शान्ता चौधरी र गंगा चौधरीको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलको नाम मात्र सर्वसम्म सिफारिस भएको छ।

क्षेत्र नम्बर ३ बाट भने एमाले उपाध्यक्ष युवराज ज्ञावलीसहित केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस भएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए।

यस्तै ६ जना प्रदेशसभा सदस्यका लागि १८ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ (क) बाट प्रदेश कमिटी सदस्य गैगाराम भट्टराई र मोहनप्रसाद पाण्डेसँगै जिल्ला कमिटी सदस्य सल्लाकार खिमबहादुर केसीको नाम सिफारिस भएको छ। 

क्षेत्र नम्बर १ (ख)बाट प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, जिल्ला कमिटी सदस्य रतन केसी र केन्द्रीय अनुशासन आयोग सदस्य सरस्वती गौतमको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ (क) बाट भने प्रदेश कमिटी सदस्य बलिभद्र रानाको नाम मात्र उम्मेदवारका लागि सिफासिर भएको छ। २ (ख) बाट भने तीन जनाको नाम सिफारिस भएको एमाले जिल्ला सविच बुढाथोकीले बताए।

उनकाअनुसार २ (ख)बाट प्रदेश कमिटी सदस्य गिरिराज केसी र तुलसा केसीसँगै प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यको नाम सिफारिस भएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट जिल्ला कमिटी उपसचिव कृष्णप्रसाद भुषाल, प्रदेश कमिटी सदस्य विनोद शर्मा, जिल्ला सदस्य नवराज लामिछाने र तुलसा पोखरेलको नाम सिफारिस भएको छ।

३ (ख) बाट एमाले जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत, जिल्ला सदस्य मेघराज भुषाल र प्रदेश कमिटी सदस्य धमकली चौधरीको नाम सिफारिस भएको छ।

किन एक जनाको नाममा सहमति हुन सकेन भन्ने प्रश्नमा, एमाले जिल्ला कमिटी सचिव बुढाथोकीले केन्द्रीय कमिटीको निर्णयअनुसार नै उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए। 

‘केन्द्रले नै एक निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जनाको नाम पठाउने भनेको छ। त्यहीअनुसार ३ जनाको नाम सिफारिस गरिएको छ,’ उनले भने, ‘अन्य साथीहरुले इच्छा नदेखाएको ठाउँमा एक जनाको नाम मात्र सिफारिस गरिएको छ।

समानुपातिक तर्फको अझै टुंगो लाग्न सकेन

एमाले दाङले प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको नाममा टुंगो लगाएको भए पनि समानुपातिकतर्फ भने अझै टुंगो लगाउन सकेको छैन। 

प्रत्यक्षतर्फ पनि केही निर्वाचन क्षेत्रमा धेरै आकांक्षीहरु देखिएपछि ३ दिनको प्रयासपछि मंगलबार साँझ मात्र उम्मेदवारको नाम टुंगो लगाएको हो।  समानुपातिकतर्फ भने बुधबार साँझसम्म सिफारिस गर्ने नामको टुंगो लाग्ने सचिव बुढाथोकीले बताए।

प्रकाशित मिति: : 2022-09-06 12:59:00

प्रतिकृया दिनुहोस्