युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ४-१ ले निराश पारेको छ।
पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएपछि लिभरपुल स्तब्ध भएको हो। यस्तै, एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र जियोभानी सिमोनीले एक एक गोल गरे।
लिभरपुलका लुइस लिडाजले एक गोल गरे। नेपोलीले समूह ‘ए’ मा विजयी सुरुआत गर्दा लिभरपुलको जारी सिजनको खराब लयले भने च्याम्पियन्स लिगको पहिलो खेलमा पनि निरन्तरता पायो। लिभरपुलले इङलिस प्रिमियर लिगको सुरुआती ६ खेलमा लय अनुरुपको प्रदर्शन गर्न सकेको छैन।
लिभरपुलले प्रिमियर लिगको ६ खेलमा मात्र २ खेल जितेको छ। समूह ‘ए’ कै अर्को खेलमा आयाक्सले सुखद सुरुआत गर्ने क्रममा रेन्जर्सलाई ४-० ले हरायो। त्यस्तै समूह ‘बी’ मा एट्लेटिको मड्रिडले एफसी पोर्टोलाई २-१ ले निराश पार्दा क्लब ब्रुजले बायर लेभरकुसनलाई १-० ले हरायो।