महोत्तरीको क्षेत्र नम्बर १ मा चुनावी समीकरण निक्कै पेचिलो बन्दै गएको छ।
सबै दलहरूले लोकप्रिय युवालाई चुनावी मैदानमा अगाडि सारेपछि निर्वाचनको माहौल निक्कै उल्लासमय बनेको हो।
दलहरूले सामाजिकरुपमा ख्याति कमाएका युवा उम्मेदवारलाई सिफारिस गरेपछि चिया पसल र चौतारीमा सर्वसाधारणका आफ्नै आकलन बनेका छन्।
नेकपा एमालेले यस क्षेत्रबाट प्रतिनिधिसभाको लागि कुमार भण्डारी, देवेन्द्र गौतम र सङ्कर महतोलाई अगाडी सारेको छ भने माओवादी केन्द्रले गिरिराजमणि पोखरेल, राजु खडका, भरत साह, प्रकाशहरि पोखरेललाई अगाडि सारेको छ।
त्यस्तै जसपाले लक्ष्मी महतो, नेपाली कांग्रेसले कल्याण गुरुङ, सिताराम भण्डारीलाई अगाडि सारेको छ।
तर, चर्चा भने प्रदेशसभाको लागि सिफारिस बनेका केदार बहादुर बस्नेत, चन्द्र बहादुर क्यापछाकी, शारदादेवी थापा, माओवादी केन्द्रका राजन ढुङ्गानालगायतका नेताको नै छ।
गठबन्धनमा भागबन्डा मिलेमा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले प्रतिनिधिसभाको र कांग्रेस या जसपाले प्रदेशसभाको टिकट पाउनेछन्। तर, गठबन्धन इतरका युवा नेताहरूको चर्चाले निर्वाचनको समीकरण आकलन गरेभन्दा फरक हुने जानकार बताउँछन्।
माओवादी केन्द्रको प्रदेशसभामा तुलसी ढुङ्गाना, राजन ढुङ्गाना, अनिल बस्नेत, विदुर कार्की, चूडामणि पोखरेल, रामजतन महतोको नाम छ। तर, नेता ढुङ्गाना नै सिफारिसमा परेका नेतामध्ये आकर्षक बनेका छन्।
यता प्रतिनिधिसभा लागि पनि सिफारिसमा परेका नामहरूमध्ये युवा नेता तथा नेकपा एमालेका कुमार भण्डारीको चर्चा छ। युवा उद्यमीसमेत भएको हुनाले कुमार भण्डारी नाम युवा र सामाजिकरुपमा परिचित छ।
सामाजिक कार्यमा समेत निक्कै सक्रिय बन्ने भण्डारीको हातमा टिकट आए धेरैले जित्न सक्ने आकलन गरेका छन्। गठबन्धन दल र दलहरूको आन्तरिक कलहले भण्डारीले त्यसको फाइँदा लिन सक्ने राजनीतिक विश्लेषकहरूको ठहर छ।
भण्डारी बाहेक भर्खरै माओवादी केन्द्रबाट एमाले भित्रिएका नेता शंकर महतोको टिकट पाउने चर्चा चलेता पनि एमालेबाट नै असहयोग हुने स्थिति देखिन्छ। लामो समयदेखि महतो जत्तिकै युवाले दाबी गरेको हुनाले टिकट संस्थापन पक्षलाई दिने कि भर्खरै एमाले भित्रिएका नेतालाई प्राथमिकता दिने भन्ने विषय पेचिलो बन्दै गएको हो।
यता प्रदेशसभामा राजन ढुंङ्गाना, केदार बहादुर बस्नेत, चन्द्र बहादुर क्यापछाकी, शारदादेवी थापा, चिरिन्जिवी हमाल, विनोद बरालको पनि उत्तिकै चर्चा छ।