नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो। खेल १९ ओभरमा घटाइएको थियो।
पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए। यस्तै, सुनिल धमलाले २७, दिलीप नाथले २३, दीपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ रन बनाए।
आर्मीका साहब आलमले दुई विकेट लिँदा जितेन्द्र मुखिया, सोमपाल कामी, सुसन भारीले समान एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङमा आएको आर्मीले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रनको योगफल तयार गरेको थियो।
आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ६६ रन बनाएका थिए। विनोदले २९ बलमा दुई चौका र सात छक्का प्रहार गरे। यस्तै, ओपनर अर्जुन साउदले पनि ५३ रनको अर्धसतकीय इनिङ खेले। यसबाहेक, टिमको खातामा भीम सार्कीले १५ रन थप्दा रोहित पौडेल र राजेश पुलामीले समान १४ रन जोडे।
पुलिसका करण केसीले दुई विकेट लिए। यस्तै, गुल्सन झा र ललित राजवंशीले एक–एक विकेट लिए। आर्मीसँगको हारका बाबजुद पुलिस समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ।