बुटवलमा जुटेर आधा दर्जन बढी स्वतन्त्र उम्मेदवारले गरे ‘लाैराे चिन्ह’बाट चुनाव लड्ने घाेषणा

BreaknLinks
BreaknLinks

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देही लगायतका जिल्लामा उम्मेदवारी घोषणा गरेको छ।

अभियानले आज (शुक्रबार) बुटवलकाे हाेटेल स्पानमा आयाेजित एक कार्यक्रमबीच रूपन्देहीका चार निर्वाचन क्षेत्रसँगै प्युठान, कपिलवस्तु, कैलाली र कन्चनपुरका स्वतन्त्र उम्मेदवारहरूकाे नाम घाेषणा गरेकाे हाे।

घोषणाअनुसार प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नंं. १ मा विशाल बास्कोटा, क्षेत्र नं. २ मा डा. निकोलस भुसाल, क्षेत्र नं. ३ मा प्रख्यात बन्जाडे र क्षेत्र नं. ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने छन्। बास्कोटा र भुसाल स्वास्थ्यकर्मी, बन्जाडे अधिवक्ता र राना पूर्वभारतीय सैनिक हुन्।

प्रदेश सभातर्फ रुपन्देही ४ (ख) मा सञ्जयकुमार मिश्रा र ५ (क) मा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै एक मात्रै निर्वाचन क्षेत्र रहेकाे प्युठानबाट रामचन्द्र केसी, कपिलवस्तु १ बाट देबेन्द्रकुमार शर्मा, कैलाली ३ बाट रमेश आचार्य र कन्चनपुर २ बाट जगदिश अवस्तीले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन्। उनीहरुलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमिले चुनाव चिन्ह लौरो प्रदान गरेका थिए।

घाेषणा कार्यक्रममा बाेल्दै उम्मेदवारहरूले आफ्नाे उम्मेदवारी नेता बन्न तथा पार्टी बनाउनकाे लागि नभएर देश बनाउनेकाे लागि भएकाे बताए। नेपालमा राजनीतिक दलका कपाल फुलेका नेताहरूबाट देशमा सकारात्मक परिवर्तन नहुने देखेर आफैं अगाडि बढेकाे बताएका छन्।

‘हामी नेता बन्न र पार्टी बनाउन आएका हाेइनाैँ, हामी देश बनाउन आएका हाैँ। नेताहरूले हामी युवालाई विदेश पठाउन खाेजेकाेले हामी देश बनाउन अघि बढेका हाैँ,’ रूपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी घाेषणा गर्दै डा. निकाेलस भुसालले भने। उनले नेपाल प्राकृति स्राेतले भरिपूर्ण रहेपनि नेताहरूले त्यसकाे परिचालन गर्न नसक्दा नेपाल पछि परेकाे बताए। नेपाललाई शान्तिकाे राजधानी बनाउनुपर्ने उनकाे भनाइ थियाे।

उम्मेदवारहरूले राजनीतिक दलका नेताहरूप्रति चरम असन्तुष्टि व्यक्त गरेकाे थिए। विश्व २१औँ शताब्दीमा पुगे पनि नेपालकाे अवस्था ७औँ शताब्दीकाे जस्ताे रहेकाे रूपन्देही १ बाट उम्मेदवारी घाेषणा गरेका विशाल बास्काेटाले प्रतिक्रिया दिएका थिए। ‘नेताहरूले बा-आमालाई ३ हजार भत्ता दिएर युवालाई विदेशमा भाडा माज्न बाध्य बनाएकाेले हामी एकजुट भएका छाैँ,’ उनले भने।

त्यस्तै कैलाली क्षेत्र नं. ३ बाट लाैराे चुनाव चिन्हबाट उठ्ने घाेषणा गरेका रमेश आचार्यले राजनीतिक दलहरूले युवालाई बाेल्न र सक्रिय हुन नदिएकाेले आफ्नाे २० वर्षे राजनीतिक यात्रा अन्त्य गर्दै स्वतन्त्र उम्मेदवारी घाेषणा गरेकाे बताए। ‘२० वर्षदेखि राजनीतिमा लागेकाे म, माओवादी जनयुद्ध लडेकाे मान्छे म, संयाेजनपछि नेपाली सेनामा काम गरेकाे मान्छे म अहिलेका राजनीतिक दलहरूले देशलाई निकास लागेर स्वतन्त्र उम्मेदवारी दिएर देश बनाउने अभियानमा जुटेकाे छु,’ आचार्यले भने,‘राजनीतिक दलहरूले युवालाई बाेल्न दिएनन्, त्यसैले सबै युवाहरू स्वतन्त्र रूपमा एकजुट हुनुपर्छ।’

अन्य उम्मेदवारहरूले पनि सक्षम र योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने बताए।

त्यसैगरी स्वतन्त्र उम्मेदवाहरूलाई चुनाव चिन्ह लाैराे हस्तान्तरण गर्न बुटवल आएका संयाेजक सायमिले युवाहरूमा राजनीतिक चेतकाे विकास हुँदै गएकाे बताउँदै खुसी व्यक्त गरे। उनले चुनाव चिन्ह लाैराेले नै देशकाे मुहार फेर्ने दाबीसमेत गरे। ‘यहाँका युवाहरूमा राजनीतिक चेत आएकाे देखेर खुसी लाग्याे,’ सायमिले भने,‘युवाकाे याे चाहनाले मंसिर ४ मा देशमा परिवर्तन आउने छ। लाैराेले नै देशकाे मुहार फेरिने छ, त्यसैले नयाँ पुस्ताकाे लागि मत परिवर्तन गर्नुहाेस्।’

त्यस्तै अभियानका प्रवक्ता हरि कार्कीले युवाहरूकाे नयाँ ऊर्जालाई एकजुट गरेर देश विकासमा लाग्ने बताए। उनले लाैराेकाे रक्षाका लागि आफूहरूले ठूलाे संघर्ष गरेकाे प्रतिक्रिया दिएका थिए।

‘स्थानीय तहकाे निर्वाचनमा हामीले जुन परिणाम प्राप्त गर्न सकिन्थ्याे त्याे सकिएन त्यसकाे मुख्य कारण चुनाव चिन्ह हाे। हामीलाई अन्याय गरेर सात दिनअघि मात्रै चुनाव चिन्ह दियाे, जसकारण हामी अलमलमा परेकाेले साेचेअनुसारकाे नतिजा निकाल्न सकेनाैँ,’ प्रवक्ता कार्कीले भने,‘स्थानीय तहकाे त्यही विजयकाे आडमा हामी यहाँ उपस्थित भएकाे हाे, चुनाव चिन्हमा समस्या नहाेस् भनेर हामीले याे अभियान सुरू गरेकाे हाे।’ उनले स्वतन्त्रहरूकाे विजय प्राप्तिका लागि लाैराे चुनाव चिन्ह लिएर चुनाव लड्न सुझाए।

उनले स्वतन्त्रहरूकाे लागि मैदान तयार गरेकाे, हतियारकाे रूपमा लाैराे चुनाव चिन्ह लिएकाे र खेलाडीकाे रूपमा सक्षतावान उम्मेदवार पाएकाे सुखी व्यक्त गरे।

प्रकाशित मिति: : 2022-09-16 20:20:00

प्रतिकृया दिनुहोस्