दाङ–२ : महराले छाडेपछि शंकरलाई कति सहज ?

BreaknLinks
BreaknLinks

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा समानुपातिकबाट सांसद बन्ने लाइनमा लागेका छन्। उनी समानुपातिकमा परेसँगै दाङ निर्वाचन क्षेत्र नम्बर २ को चर्चा फेरि एक पटक तातिएको छ।

पहिले एमालेका महासचिव शंकर पोखरेल र महराबीचमा चुनावी प्रतिस्पर्धा हुने कुराले क्षेत्र नम्बर २ को चर्चा थियो। माओवादीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्दा महराको नाम परेपछि अब २ मा के होला भन्ने चर्चा चुलिएको छ।

यसअघि दाङबाट समानुपातिको नाम पठाउँदा महराको नाम थिएन। उनलाई बरू रोल्पासँगै दाङकै क्षेत्र नम्बर २ र १ बाट प्रत्येक्षतर्फ प्रतिनिधिसभाका लागि उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो।

उनको नाम तीन ठाउँबाट प्रत्यक्षतर्फ सिफारिस भएपनि सरप्राइज दिँदै समानुपातिकमा परेसँगै अब दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोखरेलसँग कसको प्रतिस्पर्धा होला भन्ने विभिन्न आँकल सुरू भएको छ। गठबन्धनबाट सिट बाँडफाँटका क्रममा क्षेत्र नम्बर २ माओवादीलाई पर्ने निश्चित जस्तै रहेको नेताहरू बताउँछन्।

माओवादीको भागमा क्षेत्र नम्बर २ परे यहाँबाट माओवादीकी स्थायी समिति सदस्य रेखा शर्मा र केन्द्रीय सदस्य निर्मल आचार्यमध्ये एक उम्मेदवार हुने आँकलन छ। माओवादीले सिफारिस गर्दा महरासँगै यी दुईको नाम पनि प्रत्येक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको थियो।

जसमध्ये आउने निर्वाचनका लागि क्षेत्र नम्बर २ माओवादीलाई परे स्थायी समिति सदस्य शर्मा उम्मेदवार बन्ने लगभग निश्चित जस्तै रहेको माओवादी नेताहरू बताउँछन्। यसअर्थ गठबन्धनबाट माओवादीकी शर्मा र एमालेबाट पोखरेलबीच प्रतिस्पर्धा भए को कति बलियो भन्ने राजनीतिक वृत्तमा आ–आफ्नै आँकलन छ।

महरा र पोखरेलबीच प्रतिस्पर्धा हुँदा दुबै हेभिवेटका नेताहरू भएकाले दुबैलाई चुनौती रहेको चर्चा हुन्थ्यो। तर शर्मासँग पाखरेलको प्रतिस्पर्धा हुँदा पोखरेललाई निर्वाचन जित्न थप सहज भएको एमाले दाङका एक नेता बताउँछन्। ‘दुई हेभिवेटका नेताहरूबीच प्रतिस्पर्धा हुनुहुँदैनथ्यो भन्ने पनि थियो। त्यसै भयो’, ती नेताले भने, ‘अब शंकरलाई शर्मासँग प्रतिस्पर्धा गर्न थप सहज हुन्छ।’

तर प्राध्यापक तथा राजनीतिक विश्लेषक सर्जन गौतम चुनाव जित्न सोचेको जस्तो शंकरलाई सजिला नरहेको बताउँछन्। उनका अनुसार शंकरले चुनाव जित्ने आधारहरूमा घोराही र तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै स्थानीय तहको निर्वाचनमा एमालेले जितेको एक आधार हो।

त्यस्तै गठबन्धनभित्र अन्तरघात हुन सक्ने र केही मत हेभिवेटको नेता भएकाले पनि उनलाई पर्न सक्ने गौतम बताउँछन्। तर एमालेभित्र पनि अन्तरघात नहोला भन्ने ठोस आधारहरू नरहने बताउँदै एमालेभित्र पनि अन्तरघात हुन सक्ने उनको तर्क छ। जसले गर्दा शंकरलाई चुनाव जित्न गाह्रो हुन सक्ने गौतम बताउँछन्।

२०७० को निर्वाचनमा पार्टीभित्र नै अन्तरघात हुँदा पोखरेलले कांग्रसका नेता बुद्धिराम भण्डारीसँग पराजय भोग्नु परेको थियो। यो स्थिति अहिले पनि आउन सक्ने गौतम बताउँछन्।

यस्तै शंकरलाई हेभिवेटको नेता भन्दैमा मतदाताहरूले त्यसरी पनि नसोच्न सक्ने उनको तर्क छ। ‘हेभिवेटको नेता भनेर मात्र हुँदैन। नेपालमा बाबुराम भट्टराई जस्ता हेभिवेटका नेताहरू हारेको इतिहास छ,’ उनले भने, ‘शंकरले पनि नहार्लान् भन्ने छैन।’

तर गठबन्धन दलहरूभित्र अन्तरघात हुन सक्ने सम्भावना भने बढी रहेकाले शंकरको जित्न सक्ने सम्भावना पनि बढी रहेको गौतमको तर्क छ। गठबन्धनभित्र अन्तरघात भएन भने उनीहरूको मत स्वत बढी हुने र शंकर थप समस्यामा पर्ने सक्ने उनले बताए। एमाले, काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चा मिल्दा एमालेको मत कम हुने र शर्माले नजित्लान भन्न नसकिने गौतम बताउँछन्।

प्रकाशित मिति: : 2022-09-20 21:55:00

प्रतिकृया दिनुहोस्