हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ। अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ।
क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको हो। अदालतले उनलाई ६ महिनाअघि आफ्नी आमाको हत्या मामिलामा दोषी ठह¥याएको थियो।
‘रिवरडेल’ र ‘डायरी अफ ए विम्पी किड’ स्टार रयानले मार्च २०२० मा आमाको गोली हानी हत्या गरेका थिए। घरमा पियानो बजाइरहेकी आमाको टाउकोमा उनले गोली हानेका थिए। उनले आमाको हत्या गरेपछि भिडियो पनि बनाएका थिए। भिडियोमा लासको छेउमा उभिएर आफूले आमाको हत्या गरेको उल्लेख गरेका थिए।
समाचारअनुसार आमाको हत्यापछि उनले क्यानाडाका प्रधानमन्त्री जस्टि ट्रुडोको हत्याको योजना बनाएका थिए। उनले यो कुराको दाबी आफ्नो डायरीमा गरेका छन्। तर उनले यो काम नगरी प्रहरीसामु आत्मसमर्पण गरेका थिए।